प्रविधिमैत्री सेवासहितको कामकाज शुरु
बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाका नौ वटै वडाबाट प्रविधिमैत्री सेवा सहितको कामकाज शुरु भएको छ ।
सेवाग्राहीलाई प्रविधिमैत्री र छिटोछरितो सार्वजनिक सेवा प्रदान गर्नका लागि जिल्लामै पहिलोपटक बडिमालिका नगरपालिकाले प्रत्येक वडामा इन्टरनेट सुविधा जडान गरेको नगर प्रमुख पदम बडूवालले बताए ।
कम्प्युटरमा सफटवेयरको प्रयोगका लागि इन्टरनेट सुविधा आवश्यक भएको र समयानुकूल सार्वजनिक सेवा छिटोछरितो र सहज किसिमले प्रदान गर्नुपर्ने हु“दा विशेष महत्वका साथ इन्टरनेट जडान गरिएको प्रमुख बडूवालले जानकारी दिए ।
सेवाग्राहीलाई छिटोछरितो, सहज र पारदर्शी सेवा प्रवाहका लागि नगरपालिकाले प्रविधिमैत्री वडा निर्माणमा विशेष महत्व दिएको नगरपालिकाका सूचना अधिकृत हेमबहादुर थापाले बताए ।
इमेल इन्टरनेट सञ्चालन गर्नका लागि मात्रै होइन, जन्मदर्ता, सामाजिक सुरक्षा भत्ताको लगत संकलन, विभिन्न तथ्यांक दाखिला गर्नदेखि वडाबाट प्रदान गरिने विभिन्न सेवा सुविधा प्रदान गर्नका लागि इन्टरनेट सुविधा जडान गरिएको छ ।
यसले सेवाग्राही र कर्मचारी दुबैलाई सहज भएको बडिमालिका नगरपालिका– १ का वडा सचिव मदन दानीको भनाइ छ । प्रत्यक वडा कार्यालयमा मात्र नभइ नगरपालिकाभित्रका विद्यालय, स्वास्थ्य संस्था लगायतका क्षेत्रमा पनि इन्टनेटको सुविधा जडान गर्ने नगरपालिकाको लक्ष्य छ ।
इन्टरनेटको माध्यमबाटै नियमन र निगरानी समेत नगरपालिकाबाटै गर्न सक्ने गरी आवश्यक तयारी गरिएको नगर प्रमुख पदम बडूवालले बताए ।
नगरपालिकाभित्रका सबै काम पेपरलेस र डिजिटलाइजेशन गर्ने लक्ष्यअनुसार वडामा ई– सूचना प्रणाली समेत जडान गर्ने कार्यलाई अगाडि बढाएको छ ।
नगरपालिकाभित्र रहेका १, ७, ५ र ६ नं वडा बढी दुर्गममा पर्दछन् । सेवा जडानपछि टाढाका वडा कार्यालयमा पनि सदरमुकाम भित्रकै जस्तो अनुभूति हुने गरेको कर्मचारीको भनाइ छ ।