१२ कार्तिक २०८३, बुधबार

जिल्ला सभापति भए जनप्रतिनिधिको चुनाव नलड्ने अछाम कांग्रेसका नेता तिमिल्सैनाको घोषणा



अछाम / नेपाली कांग्रेस अछामको जिल्ला सभापतिका आकाङ्क्षी वेदप्रकाश तिमिल्सैनाले सभापतिमा निर्वाचित भए मेयरदेखि प्रदेशसभा र प्रतिनिधिसभा सदस्यसम्मको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। पार्टीको नेतृत्वमा पुगेर व्यक्तिगत राजनीतिक अवसर खोज्नुभन्दा संगठन सुदृढीकरण, एकता र सामूहिक नेतृत्व विकासमा केन्द्रित हुने उनको प्रतिबद्धता छ।

जिल्ला सभापति बन्ने आफ्नो चाहना कुनै सार्वजनिक पदको उम्मेदवार बन्ने अवसरसँग नजोडिएको स्पष्ट पार्दै तिमिल्सैनाले सभापति बनेपछि आफूले कुनै पनि सार्वजनिक पदमा उम्मेदवारी नदिने र त्यसका लागि आफ्नो नाम सिफारिससमेत नगराउने बताएका हुन्।

‘मेयर, प्रदेशसभा सदस्य वा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने आकाङ्क्षा राखेर मैले जिल्ला सभापति बन्न खोजेको होइन,’ उनले भने, ‘यदि म नेपाली कांग्रेस अछामको जिल्ला सभापतिमा निर्वाचित भएँ भने कुनै पनि सार्वजनिक पदको उम्मेदवार बन्ने छैन र त्यसका लागि कतै पनि आफ्नो नाम सिफारिस गराउने छैन।’

द्वन्द्वपीडित परिवारका सदस्यसमेत रहेका तिमिल्सैनाले कांग्रेसमा आबद्ध भएकै कारण आफ्नो परिवारले विस्थापित हुनुपरेको र घर लुटिएको विगत स्मरण गर्दै पार्टीप्रतिको निष्ठा कठिन परिस्थितिमा पनि नडगमगाएको बताएका छन्।

द्वन्द्वका क्रममा बेपत्ता भएका आफ्ना कान्छाबुवा तथा कुइका गाविसका तत्कालीन अध्यक्ष नरेन्द्रराज तिमिल्सैनाको अवस्था अझै अज्ञात रहेको उल्लेख गर्दै उनले परिवारले अनेक कठिनाइ भोगे पनि कांग्रेसप्रतिको आस्था नत्यागेको बताए।

‘नेपाली कांग्रेसमा आबद्ध भएकै कारण मेरो घर लुटियो, हामी विस्थापित भयौँ। कतैबाट राहत मिलेन, कसैले सोधखोज गरेन। तर पनि हामी विचलित भएनौँ,’ उनले भने।

आफू र आफ्नो परिवार वर्षौँदेखि पार्टीमा सक्रिय रहेको उल्लेख गर्दै तिमिल्सैनाले व्यक्तिगत अवसरभन्दा अछाम र यहाँका नागरिकसँगको आत्मीयतालाई जिल्ला सभापति बन्ने आकाङ्क्षाको आधार बताएका छन्। व्यक्तिकेन्द्रित राजनीतिमा विश्वास नगर्ने उल्लेख गर्दै उनले पार्टीलाई आफूले मात्रै राम्रो बनाउन सक्छु भन्ने अहङ्कार पनि नरहेको स्पष्ट पारे।

‘मेरो लक्ष्य पद प्राप्त गर्नु होइन, पार्टीलाई बलियो बनाउनु हो। मेरो चाहना व्यक्तिगत अवसर खोज्नु होइन, साथीहरूका लागि अवसर सिर्जना गर्नु हो,’ उनले भने, ‘म पदका लागि होइन, पार्टीको एकता, सुदृढीकरण र सामूहिक नेतृत्वको विकासका लागि जिल्ला सभापतिको जिम्मेवारी लिन चाहन्छु।’

आध्यात्मिक सोच राख्ने व्यक्ति भएको उल्लेख गर्दै तिमिल्सैनाले व्यक्तिगत राजनीतिक लाभभन्दा पार्टी र अछामको हितलाई प्राथमिकता दिने बताएका छन्। जिल्ला सभापतिको जिम्मेवारी पाएमा सहकर्मीहरूलाई नेतृत्वमा अघि बढ्ने अवसर सिर्जना गर्नु आफ्नो प्राथमिकता हुने उनको भनाइ छ।

उनले कांग्रेसका अग्रज नेता तथा क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो विचार र प्रतिबद्धतालाई आत्मसात् गर्दै जिल्ला सभापतिको जिम्मेवारी दिन आग्रह गरेका छन्। पार्टीप्रतिको निष्ठा, अछामप्रतिको आत्मीयता र सामूहिक नेतृत्वको अवधारणालाई विश्वास गरेर साथ, समर्थन र सहयोग गर्न उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अपिलसमेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार