९ कार्तिक २०८३, आइतबार

दसैंमा हरिण जात्रा आस्था, संस्कृति र सद्भावको अनुपम संगम




धनगढी/दसै अर्थात् आस्था, उमङ्ग र पारिवारिक मिलनको पर्व हो । यही पर्वको रौनकमा दार्चुलाको व्यास गाउँपालिका–६, हुति गाउँमा भने एउटा अनौठो र मौलिक परम्पराले सबैको ध्यान खिच्ने गरेको छ ।


दसैँको टीकाका दिन मनाइने हरिण जात्रा यहाँको धार्मिक आस्था, ऐतिहासिक विरासत र सांस्कृतिक सद्भावको जीवन्त प्रतीक बन्दै आएको त्यहाँका बासिन्दा बताउछन् ।

हरेक वर्ष दसैँको टीकाका दिन तीन जना स्थानीय व्यक्तिलाई हरिणको स्वरूपमा शृङ्गार गरिन्छ । त्यसपछि दमाहा बाजाको गुञ्जायमान तालसँगै नाच्दै, गाउँदै र रमाउँदै उनीहरूलाई करिब एक किलोमिटर दूरीमा रहेको नौलाकेदार (दुर्गाभवानी) मन्दिरसम्म र्पुयाइन्छ ।

बाजाको तालमा हरिणको स्वरूपमा सजिएका व्यक्तिको नाच र स्थानीयको उत्साहले गाउँको वातावरण नै उल्लासमय बन्छ स्थानीय तथा समाज अध्येता राजेन्द्र कुँवर बताउछन् ।


उनका अनुसार यो जात्रा कहिलेदेखि सुरु भयो भन्ने ऐकिन ऐतिहासिक अभिलेख नभए पनि पुस्तौँदेखि परम्परागत रूपमा मनाइँदै आएको स्थानीयको भनाइ छ । समय बदलिएको छ, पुस्ता फेरिएका छन्, तर यस जात्रासँग जोडिएको आस्था र परम्पराले निरन्तरता पाउँदै आएको छ ।

घटस्थापनादेखि नै पूजा–आराधना सुरु हुने यस पर्वमा दसैँको टीकाका दिन हजारौँ दर्शनार्थी तथा आगन्तुकको उपस्थिति हुन्छ र दसैको पूर्णिमासम्ममा त्यो पर्व लाग्छ । दार्चुलाका विभिन्न गाउँबाट मात्रै होइन, भारतको उत्तराखण्डबाट समेत श्रद्धालुहरू हरिण जात्रा हेर्न र पूजाआराधनामा सहभागी हुन पुग्छन् । जात्राको अनौठो स्वरूप, दमाहाको ताल र स्थानीयको उल्लासले आगन्तुकलाई आकर्षित गर्छ ।

हरिण जात्राको रौनक टीकाको दिनमा मात्रै सीमित हुँदैन ।पूर्णिमासम्म गाउँमा देउडा खेल्ने, सवाल–जवाफ गर्ने र गीतमार्फत मनका भावना साटासाट गर्ने परम्पराले निरन्तरता पाउँछ ।


रातभर चल्ने देउडा र सामूहिक सहभागिताले आपसी आत्मीयता, भाइचारा र सामाजिक सद्भावलाई थप बलियो बनाउँछ । महिला, पुरुष र युवापुस्ताको सहभागिताले यो परम्परा एउटा धार्मिक अनुष्ठानमा मात्र सीमित नभएर सामूहिक खुसी र सांस्कृतिक पहिचानको पर्व बनेको त्यहाँका बासिन्दाको भनाइ छ ।

हरिण जात्राको अर्को विशेष पक्ष नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध हो । महाकाली नदीले दुई देशको भूगोल छुट्याए पनि सीमावर्ती समुदायबीचको आस्था, परम्परा र आत्मीयतालाई अलग गर्न सकेको छैन । पुस्तौँदेखि चलिआएको यो जात्रा दुवैतर्फका स्थानीयलाई सांस्कृतिक सूत्रमा जोड्ने साझा सम्पदा बनेको छ ।

यस्ता मौलिक परम्परा कुनै समुदायको धार्मिक विश्वासमा मात्र सीमित हुँदैनन्, तिनले समाजको इतिहास, पहिचान र जीवनशैलीसमेत बोकेका हुन्छन् । त्यसैले हरिण जात्राको संरक्षण र पुस्तान्तरणसँगै यसको ऐतिहासिक पृष्ठभूमि, धार्मिक महत्व र सांस्कृतिक पक्षको अभिलेखीकरण आवश्यक देखिन्छ ।

प्रचारप्रसार, व्यवस्थित व्यवस्थापन र स्थानीय समुदायको सक्रिय सहभागितामार्फत हरिण जात्रालाई सांस्कृतिक पर्यटनसँग जोड्न सकिए दार्चुलाको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्न सक्छ । यसले स्थानीय मौलिकता जोगाउनुका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति परिचित गराउने र नेपाल–भारतबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गर्न वडाअध्यक्ष राजेन्द्रसिंह कुँवरको बुझाइ छ ।

आस्था, परम्परा र सद्भावलाई एउटै सांस्कृतिक मालामा उन्ने हुति गाउँको हरिण जात्रा दार्चुलाको गौरव मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सम्पदा पनि हो ।


वडाअध्यक्ष कुँवरका अनुसार हरिणजात्रालाई जोगाउन व्यास गाउँपालिकाले समेत चासो लिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार