१५ बैशाख २०८१, शनिबार

अछाममा मजदुरी गर्न हिडेका पाँच जनाको ट्याक्टर दुर्घटनामा मृत्यु



धनगढी/ अछाममा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकका अनुसार ज्यान गुमाउने पाँचै जना एकै वडाका रहेका छन् । मेल्लेख गाउँपालिका वडा नम्बर ७ सुयडीबाट साँफेबगर जाँदै गरेको सु.प्र.०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो।

ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो। घटनास्थलमै ज्यान गुमाउने पाँचै जना मजदुर हुन्।

मृत्यु हुनेमा मेल्लेख गाउँपालिका–१ ऋषिदहका ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी छन्। उनीहरू साँफेबगरमा विभिन्न निर्माणाधीन संरचना बनाउने ठाउँमा मजदुरी गर्न जाँदै थिए।

ट्याक्टरमै सवार तीन जना घाइते समेत छन्। घाइते हुनेमा सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी छन्।

घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार