१५ बैशाख २०८१, शनिबार

स्थानीय जनप्रतिनिधि कुराको होइन विकासको नेता बन्नुपर्छ : ओली



टीकापुर/ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रतिनिधिको भूमिका हिजोका भन्दा फरक भएको बताउदै स्थानीय जनप्रतिनिधि कुराको नेता नभएर विकासका नेता बन्नुपर्ने बताएका छन् ।

आइतबार कैलालीस्थित बर्दगोरिया गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै ओलीले भने ‘अब कुराको मात्रै नेता भएर काम चल्दैन विकासको नेता बन्नुपर्छ यसकालागि स्थानीय विकास गर्न ध्यान दिनुपर्छ ।’

ओलीले भने, ‘स्थानीय सरकारले प्रशासनिक सेवा, न्यायिक सेवा र विकासका काम गर्नुपर्छ यसको सिफारिसका आधारमा अरु कार्यालयले सेवा दिनुपर्ने भएकाले प्रविधि मैत्री बनाउदै छिटो सेवा उपलब्ध गराउनु कोसिस गर्नुहोला ।’

कृषिमा आधुनिकीकरण गर्न जोड दिदै ओलीले भने, ‘कर्णाली छेउमा भएकाले सिंचाइको समस्या छैन कृषि, मत्स्यपालन लगायतको सम्भावना छ, कृषिमा आधुनिकीकरण, व्यवसायिकरण, मेशिनको प्रयोग बढाइ, उत्पादन र उत्पादकत्व बढाउन कृषकलाई तालिम लाग्नोस, गुणस्तरीय शिक्षा दिन लाग्नोस ।’

उनले आफू प्रधानमन्त्री हुँदा शुरु गर्न खोजेको हरित क्रान्तिमा लाग्न र जनजीविकामा सकारात्मक सुधार गर्ने काममा सफलता मिलोस भन्ने शुभकामना दिए । पालिकाले प्रशासनिक भवन निर्माणका साथै छोटो समयमा १५ शैयाको अस्पताल निर्माण गरेर सेवा शुरु गरेको, स्नातक क्याम्पस सञ्चालन गरेकोमा अध्यक्ष ओलीले धन्यवाद पनि दिए ।

बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवन छ करोड १७ लाख २५ हजार रुपियाँको लागतमा बनेको छ । २०७६ साउनबाट शुरु भएको भवन २०८० साल असारमा पूरा भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए । कार्यक्रम गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरको अध्यक्षतामा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार