सुदूरपश्चिम मुख्यमन्त्री भलिबल प्रतियोगिताको उपाधि एपीएफले जित्यो
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2024/02/416502687_909958223857974_4285815082210387392_n-768x343.jpg?resize=720%2C322&ssl=1)
महेन्द्रनगर/ सुदूरपश्चिममा जारी तेस्रो संस्करणको मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफ क्लबले जितेको छ ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी तेस्रो संस्करणको मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो ।
शनिबार भएको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै एपीएफले प्रतियोगिताको उपाधि जित्यो । पहिलो सेट २५–२१ ले जित्दै गण्डकीले खेलमा उत्कृष्ट सुरुवात गरेको थियो । तर पहिलो सेटको लयलाई कायम राख्न नसक्दा गण्डकीले हार व्यहोरेको हो ।
एपीएफ भने लगातार तीन सेटमा जित निकाल्दै फाइनलको उपाधि जित्न सफल भएको हो । एपीएफले दोस्रो सेट २५–१६ ले जितेको थियो भने तेस्रो सेट २६–२४ र चौथो सेटमा २५–२१ ले जित्दै उपाधि उचालेको हो । एपीएफले चार लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको गण्डकीले दुई लाख रुपैयाँमा चित्त बुझाएको छ ।
यस्तै शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले जित निकाल्दै तेस्रो भएको छ । पुलिसले आर्मीलाई ३–१ को सेटमा हराएको हो । तेस्रो बनेको पुलिसले १ लाख रुपैयाँ पुरस्कार पाएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आयोजना तथा कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा तीन विभागीयसहित ७ प्रदेशका १० टिमको सहभागिता रहेको थियो ।
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2024/02/422596419_1065257567864592_4287440420213585634_n-768x576.jpg?resize=720%2C540&ssl=1)
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2024/02/422645623_1564766944340285_8918400748568188306_n-1-768x576.jpg?resize=720%2C540&ssl=1)