१७ बैशाख २०८१, सोमबार

महामन्त्री गगनको कार्यक्रममा कैलाली कांग्रेसका नेता किन आएनन्



धनगढी / मंगलबार धनगढीमा आयोजित कार्यक्रममा समुदायमा कांग्रेस कार्यक्रममा अन्र्तगत महामन्त्री गगन थापा मुख्यवक्ता रहेको कार्यक्रममा कांग्रेसबाट निर्वाचित वडाका जनप्रतिनिधि, कांग्रेसका विभिन्न कार्यसमितिमा रहेकाहरु र भातृ संगठनमा जिम्मेवारी लिएकाहरु उपस्थित नभएपछि केही कार्यकर्ताले आक्रोश पोखेका छन् ।

निजामति कर्मचारी विमलप्रकाश जोशीले धनगढीमा ११ वडा कांग्रेसले जितेको छ कति जना आउनु भएको छ, जिल्ला र नगरमा कति जनाको कमिटीको छ, कति आउनु भएको छ भन्दै हात उठाउन भनेका थिए । तर एक जनाको हात उठेन ।

बाजुराकी रिता शाहीले पनि गगन दाइ कोही आएनन् भनेर नआत्तिनुस हामी युवा तपाईको साथमा छौ भनेको थिइन । उनले कांग्रेसले मात्र कांग्रेसलाई हराउन सक्ने बताएकी थिइन ।

सो कार्यक्रममा डा . राजेन्द्रवीर चन्द, घनश्याम भट्ट, सुनिता राना, गोविन्द जोशी, खेमराज जोशी र पत्रकार मनमोहन स्वाँरले महामन्त्री थापालाई समसायिक विषयमा प्रश्न गरेका थिए ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा हुलाकी राजमार्ज आसपासको देशव्यापी कार्यक्रम अन्तरगत दुई दिनदेखि कैलाली थिए ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले चैत २७ गते नै महामन्त्री गगन थापाको कार्यक्रम बारे सुदूरपश्चिम प्रदेश समितिका सभापतिको नाममा पत्र लेखेर जानकारी गराउदा पनि कांग्रेसका अगुवा नेता कार्यक्रर्ता गगनको कार्यक्रममा सहभागी नहुँदा धेरै कार्यकर्ता अच्चमित भएका थिए ।

कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर लगायतका पदाधीकारी कार्यक्रममा देखिएनन् । पछिल्लो पटक सभापति शेरबहादुर देउवा पत्नि डा. आरजु राणासंग टाढिएका भनिएका प्रदेशका महामन्त्री नरनारायण शाह मनु भने सो कार्यक्रममा सत्तीदेखि नै सक्रिय देखिएका थिए । उनले फेसबूकमा समेत महामन्त्री गगनको कार्यक्रमको बारेमा जानकारी दिइरहेका थिए ।

कैलालीबाट कांग्रेस केन्द्रीय समितिमा सात जना रहेका छन् । तर कोही पनि उपस्थित थिएनन् डा. आरजु राणा, डा. रणबहादुर रावल, डा. जीवनकुमारी राना, रामजनम चौधरी, इश्वरी न्यौपाने, नृपबहादुर वड र शुशिला मिश्र केन्द्रीय सदस्य रहेका छन् ।

कार्यक्रममा कैलालीका सभापति तथा राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट पनि आएनन् । उनले उपसभापति खेमराज चौधरीलाई कार्यबहाक दिएकोले चौधरीकै सभापतित्वमा कार्यक्रम गरिएका थिए ।

कार्यक्रममा नआउनेहरु प्राय सबै सभापति देउवा पक्षका हुन । देउवा पक्षका मानिने कैलाली सचिव केशव मिश्रले भने कार्यक्रम सञ्चालन गरेका थिए ।

डा. आरजु राणा धनगढी आउदा सबै कार्यक्रममा देखिने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु प्रकाशबहादुर देउवा, शिवराज भट्ट पनि धनगढीमा भएर पनि कार्यक्रममा आएनन् । प्रदेश सभामा कांग्रेसका १८ जना छन् ती सबै धनगढीमै हुँदा पनि बाजुराकी समानुपातिक सदस्य जुना दानी मात्र कार्यक्रममा देखिएकी थिइन ।

महामन्त्री थापाको कार्यक्रममा विगतमा कोइराला परिवारसंग जोडिएका नेता, कार्यकर्ता मात्र अत्याधिक बढी थिए ।

कैलालीका घर भएका केन्द्रीय सदस्यहरु कार्यक्रममा नआएपछि नेतृ प्रतिमा गौतम, बझांगका प्रकाश स्नेही, डोटीका भरत खड्का, बाजुराका जनकराज गिरी लगायतलाई महामन्त्री थापाको वरीपरी बसाएर मञ्च भरिएको थियो ।

महामन्त्री संस्था हो गुट होइन, फेरि पार्टीकै कार्यक्रम हो व्यक्तीको होइन, एक्कासी भएको कार्यक्रम पनि होइन , पूर्व निर्धारित कार्यक्रम हो यस्तो कार्यक्रममा नेताहरु नआउनु ठिक होइन एक कार्यकर्ताले नाम नलेख्ने शर्तमा भने, यसमा अनावश्यक षड्यन्त्र गरियो, नत्र यति धेरै नेतामध्ये कोही न कोही त आउनु पर्ने थियो ।

धेरैले विमारी भएको खवर पठाए कांग्रेस केन्द्रले, प्रदेश, प्रदेशले कैलाली जिल्ला कार्य समितिलाई गगन आउने लिखित परिपत्र पठाइएको थियो । जिल्लाले प्रदेश निर्वाचन क्षेत्रीय समिति र नगर कमिटीलाई लिखित परिपत्र पठाएको थियो । तर सभापति देउवा पक्षीय क्षेत्र र नगर सभापतिले आफूहरु विमारी भएको भन्दै गगनको कार्यक्रम अघोषितरुपमा बहिस्कार गरेका छन् ।

त्यसरी बहिस्कार गर्नेमा क्षेत्र नम्बर २ का सभापति विष्णु ढकाल, ४ का ललित रोकाया, ५ का भीम पडाल, धनगढी उपमहानगरका सभापति यज्ञराज उपाध्याय, कैलाली गाउँपालिका वडानम्बर ७ का वडाअध्यक्ष दिपेन्द्र वम लगायत छन् । उनीहरुले आफू विमारी भएको खबर पठाएको कांग्रेस स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार