२० बैशाख २०८१, बिहीबार

५५ वर्षदेखि घरबासका लागि सङ्घर्ष




टीकापुर / जङ्गल फडानी गरेर बस्ती बसेको कैलालीमा बसोबासीलाई जमिन दिन कयौं पटक ऐलानी नापी भए, सुकुम्वासी समस्या समाधान आयोग बने, भूमि आयोग बने तर ५५ वर्षअघि किनेर बसेको जग्गामा भजनी नगरपालिका–१ का नरबहादुर बाब्लीको परिवारको अधिकार स्थापित हुन सकेको छैन ।

वि.सं २०२४ सालमा नरबहादुर बाब्लीका बुवा बीरबहादुरले तेजनारायण श्रेष्ठबाट तीन हजार रुपियाँमा छ कठ्ठा पाँच धुर जग्गा किने । २०३७ सालमा वन कार्यालयले त्यही जग्गामा भवन बनाउन खोजेपछि प्रतिवाद गर्दा बाब्लीका बुबा बीरबहादुर कामीले दुई महिना थुनामा बस्नु पर्यो ।

केही वर्षपछि एक जना वन कर्मचारीले केही बस्नलाई मागेपछि टहरो बनाएर बस्न दिए तर जागिर सकिएपछि स्थानीय दयाराम देवकोटालाई २० हजार बेचिदिएपछि २०५५ सालमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गरी २० हजारको बदलामा देवकोटालाई २७ हजार तिर्नु परेको थियो । यसरी आफ्नो बनाएको पनि नाममा हुन सकेन ।

मालपोत कार्यालय कैलालीको विवरण अनुसार वि.सं २०२१ सालमा वन कार्यालयको क्षेत्र रहेको जग्गा नापी हुन सकेको थिएन यही जग्गालाई श्रेष्ठले नरबहादुर बाब्लीका बुबा बीरबहादुर कामीलाई बेचेका थिए ।

जग्गा जोगाउन झमेला खेप्दै आएका बाब्लीले २०५६ सालमा गाविसकाबाट हकभोगको सिफारिससहित जग्गा दर्ताका लागि मालपोत कार्यालय कैलालीमा निवेदन दिएका थिए तर मालपोतले बाब्लीलाई विवादित भएकाले दर्ता नहुने सूचना दियो भने तेजनारायणका छोरा गोविन्द श्रेष्ठका नाममा भने दर्ता गरिदियो ।

बसोबास भएको ३२ वर्षपछि पनि जग्गा दर्ता नभएपछि बाब्लीले अदालतमा मुद्दा पनि हाल्नुभयो पैसा तिरेको प्रमाण नभएका कारण हार्नुपर्यो । यही जग्गा २०६१ सालमा श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखालाई दान दिए । कानुनी रुपमा जग्गा नाममा नभएपनि जग्गा भने २०२४ सालदेखि बाब्लीका चार भाइले बाँडेर उपभोग गरिरहेका छन् ।

जग्गा बचाउन आफ्नो परिवारले ठूलै संघर्ष गर्नु परेको बाब्लीको भनाई छ भने पैसा दिएको प्रमाण नभएकाले कानुनी रुपमा मुद्दा हारिसकेपछि पनि बाब्लीले बलमिच्याँई गरेको र रेडक्रसले आफ्नो नाममा भएको जग्गा भोगचलन गर्न नसकेको श्रेष्ठ बताउछन् ।

‘म महोन्याल माविको अध्यक्ष हुँदा २०५९ सालमा श्रेष्ठले यो जग्गा विद्यालयलाई लिन प्रस्ताव गर्नुभएको थियो, दिने भए राम्रो जग्गा दिनु मानिस बसिरहेको जग्गा लिएर विद्यालयलाई विवादमा पार्न चाहान्न भनेपछि नयाँ जग्गा दिनु भएन्’ नेपाली काँग्रेसका भजनी नगर सभापति नवराज मिश्र भन्छन्, अहिले प्रमाण रेडक्रससंग छ मर्का बाब्लीलाई पर्यो, धेरै भन्ने ठाउँ छैन् ।’

मिश्र जस्तै एमाले, नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरु पनि ‘२०२४ सालदेखि बसोबास भएको जग्गाबाट बाब्ली परिवारलाई हटाउनुपर्छ भन्नै नसकिने बताउछन् । वडा कार्यालयले पनि २०२४ सालदेखि नै बाब्ली परिवारले जग्गा उपभोग गरिरहेको सर्जमिन प्रतिवेदन तयार गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी भजनीले जग्गा खाली गराउन भजनी नगरपालिकामा निवेदन दिएपछि २०८० चैत २९ गते जग्गा खाली गराउने कोशीश पनि गर्यो तर विरोध भएपछि पछि हटेको छ । नेपाल रेडक्रस सोसाइटी भजनीका सभापति रामनारायण चौधरी संस्थाका नाममा रहेको जग्गा भोगचलनमा ल्याउनु आफ्नो पदीय दायित्व भएको बताउछन् ।

पाँच पुस्ता बसोबास भएको जग्गा ५५ वर्षपछि छोडन बाब्ली परिवार तयार छैन् । ‘२०२४ सालमा बड्डा बाजे नरिभान कामी यहाँ आउनु भएको हो, बाजे बीरबहादुर मुद्दा खेपेर मरे, बुवा र म झमेला खेपिरहेका छौं,’ शरद बाब्ली भन्छन्, ‘पाँच पुस्तासम्म बसोबास भएको जग्गा छोडेर बालबच्चा बोकेर अब हामी कहाँ जाने ?’ बाब्ली परिवार भन्छ, ‘कानुनले न्याय दिएन मालपोत र अदालतले स्थलगत नगरी निर्णय गर्यो । सत्य एकदिन सत्य नै हुन्छ भनेर बसेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार