१५ बैशाख २०८१, शनिबार

गैरआवासिय नेपालीको समेतको डेढ अर्व लगानीमा युरोपियन मापदण्डको औषधि उद्योग सञ्चालन




काठमाडौं /“स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प भन्ने नारा सहित नेपाली उपभोक्ताका लागि यूरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको औषधि उद्योग सञ्चालनमा आएको छ ।

गैरआवासीय नेपाली समेतको झण्डै डेढ अर्व लगानीमा चितवनको जुगेडीमा उत्पादन कारखाना रहेको सो औषधि उद्योगको काठमाडौंमा सोमबार भएको विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फर्मास्युटिकल्सको औपचारिक शुभारम्भ गरे ।

सो अवसरमा बोल्दै सभामुख घिमिरेले ‘ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले अपनाएका प्रविधि र नवीनताहरुले औषधि उपभोक्ताका मागहरु पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।

उनले औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताए । सभामुख घिमिरेले भने ५० प्रतिशत आयातमा भर पर्ने अवस्था अन्त्य गर्नमा ओम मेघाश्रीले भूमिका खेल्ने बताए ।

नेपालजस्तो मुलुकमा औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि छ उनले भने । कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी र गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री किरण गुरुङले स्वदेशी औषधिलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्था नै लगानीमैत्री हुनुपर्नेमा जोड दिए ।

उनीहरुले औषधिमा भएको लगानी खेर जान नदिन आयातमा भएको खुलापनमा पुनर्विचार गर्नुपर्ने बताए ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको बताएका थिए ।

कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्रि केसी, प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलगायतले ओम मेगाश्रीलाई सफलताको शुभकामना व्यक्त गरे ।

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधिमा आम समुदायको चासो र लगानी प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्दै गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्य योजनासहित अगाडि बढ्नुलाई प्रमुख दायित्व ठानेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार