१० श्रावण २०८१, बिहीबार

आत्महत्या गरेकी दिपेन्द्र प्रहरीकी शिक्षिकाका मामा नाता पर्ने प्रेमीलाई चार वर्ष कैद




धनगढी/ जिल्ला अदालत कैलालीले धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका राजेश्वरी डडालको आत्माहत्या दुरुत्साहन सम्बन्धी मुद्दामा उनका प्रेमी जगदिश कोट्टारीलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको छ।

जिल्ला अदालतका न्यायाधिश प्रदीपकुमार उपाध्यायको इजलाशले २६ माघमा फैसला गर्दै कोट्टारीलाई चार वर्ष कैद र ४० हजार रुपियाँ जरिवाना हुने सजाय सुनाएको श्रेस्तेदार मानबहादुर बिष्टले जानकारी दिए । उनकाअनुसार मृतकका परिवारलाई अभियुक्तबाट एक लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश समेत दिइएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका–६ सितोली स्थायी घर भएकी राजेश्वरी धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी थिइन् । उनी गत भदौँ ६ गते धनगढी उपमहानगरपालिका–३ मा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उनी मार्मा गाउँपालिका–६ कै मामा नाता पर्ने जगदिश कोट्टारीसँग प्रेम सम्बन्धमा थिइन् । जगदिशले आफूसँग विवाह गर्ने भन्दै प्रेम गरेको तर अहिले आएर धोका दिएको भन्दै आत्माहत्याको बाटो रोजेको उनले लेखेको सुसाइट नोटमा उल्लेख गरेकी थिइन् ।

राजेश्वरीको मृत्युपछि भदौँमै उनका बुवा राजेन्द्रसिंह डडालले जिल्ला प्रहरी कार्यालय कैलालीमा जगदिशविरुद्ध छोरीलाई आत्माहत्या गर्न बाध्य पारेको भन्दै आत्माहत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार