१५ बैशाख २०८१, शनिबार

कैलाली प्रहरीको थुनामै बितेका सेट्टीको शव आफन्तले बुझे



धनगढी/ जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामै रहेका बेला ज्यान गुमाएका युवकको शव आफन्तले बुझेका छन्। हत्या अभियोगमा पक्राउ परेर थुनामै ज्यान गुमाएका धनगढी उपमहानगरपालिका– १६ को बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको शव शुक्रबार आफन्तले बुझेको प्रहरीले जनाएको छ।

सेट्टीको शव परीक्षणपछि आफन्तले बुझेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए। उनकाअनुसार घटनाबारे अनुसन्धान गर्न मृतकका परिवारले ज्यान सम्बन्धी मुद्दासमेत दर्ता गराएका छन्।

जिल्ला प्रहरी कार्यालयमा बिहीबार बिहान बयान लिने क्रममा ढलेर बेहोस भएका सेट्टीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेको थिए।

सेट्टीलाई कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका– १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो। बेहडाबाबामा पसल सञ्चालन गर्दै आएका सेट्टीले मदिरा चोरी गरेको निहुँमा थापामाथि कुटपिट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार