२१ बैशाख २०८१, शुक्रबार

जोशीपुर र बर्दगोरियामा आगलागी : गहुँबालीमा ठुलो क्षति



धनगढी/ कैलालीका विभिन्न ठाउँमा शनिबार आगलागी हुँदा ठुलो मात्रामा गहुँबालीमा क्षति पुगेको छ ।

जोशीपुर वडा नम्बर ६ पकरियामा भएको आगलागीबाट १५ परिवारको सात विगाहा भन्दा बढी जमिनमा लगाएको गहुँबालीमा क्षति पुगेको छ । गहुँबालीमा आगलागी हुँदा छ लाख चालिस हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख वरिष्ठ नायव निरीक्षक गणेश थापाका अनुसार दिउँसो १२ ः ४५ बजे लागेको आगो नियन्त्रण गर्न घोडाघोडी, लम्कीचुँहा र टीकापुर नगरिपालिका तीनवटा दमकल, प्रहरी तथा स्थानीय परिचालन गरेर गहुँबालीमा थप क्षति हुनबाट जोगाइएको थियो ।

जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले प्रहरीले भने भन्दा बढी क्षति भएको हुनसक्ने बताउदै क्षतिको लगत आएपछि धेरै कुरा खुल्ने बताए ।

पकरियामा ६० विगाहाको गहुँको नल र सात विगाहा भन्दा बढी खेतमा लगाइएको गहुँमा क्षति पुगेको इलाका प्रहरीको भनाइ छ ।

यस्तै गरेर बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ विपना गदसिलाले फोहोर जलाउन खोज्दा तीन परिवारको ६/६ कट्टा गहुँबालीमा क्षति पुगेको छ ।

यस्तै गरेर गौरीगंगा नगरपालिकाको वडानम्बर ५ को एउटा कच्ची घरमा आगलागी हुँदा ६० हजार बरार रुपियाँको क्षति भएको छ ।

तस्बिरहरु : इलाका प्रहरी कार्यालय, जोशीपुर

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार