१५ बैशाख २०८१, शनिबार

रेशमलालले फकाउन सकेनन् ‘प्रिय बुढी’, भन्छन्: मेरो विवशता हो, हार होइन



धनगढी: नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद सामाजिक सञ्जालमा पुगेको छ। आन्तरिक विवाद चरम उत्कर्षमा पुग्दै अहिले सोसल मिडियामै आरोप प्रत्यारोप भैरहेको छ।

स्मरण रहोस्, बुढा रेशमलाल चौधरी र उनकी बुढी रञ्जिता श्रेष्ठबीचको विवाद बढ्दै जाँदा पार्टी विवाद छताछुल्ल भएको हो।

विवादको चुरो कुरो भनेको हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे लगायतको हो। सोही विवाद अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलालले फेसबुकमा छताछुल्ल पारेका छन्।

यो विषयमा पत्नीलाई सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म गएको र रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको रेशमलालले फेसबुकमा लेखेका छन्। ‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ उनले लेखेका छन्।

जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै रेशमले लेखेका छन्, ‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन। आज लोग्ने-स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न।’

रन्जिताको अनुपस्थितिमा सोमबार कैलालीको टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले नयाँ गठबन्धनमा नजाने र प्रतिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो। तर नाउपाकी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकी रन्जिताले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी छन्। कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा भने रेशमको सहमतिमा नाउपाका मन्त्री नियुक्त भएका छन्। कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी हुन नहुने रन्जिताको मत छ। पार्टीभित्रको यो विवाद घर झगडा नभई राजनीतिक विषय भएको रेशमको भनाइ छ। रेशम सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धनको पछाडि लाग्न नहुने पक्षमा छन्।

आफू घर परिवारकोभन्दा जनताको मान्छे भएको भन्दै रेशमले रन्जितालाई सम्झाउन नसक्नु हार नभइ विवशता भएको बताएका छन्। ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ। रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन। मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो।’

रन्जिता भने प्रचण्डले नाउपाका नेता-कार्यकर्ता रिहाइका लागि पहल गरेकाले उनलाई साथ दिनुपर्ने पक्षमा छिन्।

आफूहरुप्रति प्रचण्डको सहानुभूति भए पनि कसैको कृपाले नाउपाका नेता-कार्यकर्ताहरु रिहा नभएको रेशमले उल्लेख गरेका छन्। बरु दुई लाख ७८ हजार जनताको भोटको बलमा टिकापुर घटनामा बन्दीहरु रिहा भएको र रन्जिता पनि मन्त्री बनेको रेशमलालको भनाइ छ।

रेशमले लेखेका छन्, ‘उनको (रन्जिताको) भनाइ छ-प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न। अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुईचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि। अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौं र तिमी पनि मन्त्री भएकी हौ।’ रेशमलालले प्रचण्डकै कारण पत्नीलाई सम्झाईबुझाई गर्न नसकेको संकेत गरेका छन्। यस्तै उनले पत्नीमा मन्त्री हुने इच्छाले पनि सल्लाह नमानेको छनक दिएका छन्।

‘नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखल्नेवाला छैनौं। जताबाट पनि भलो ठूलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो,’ रेशमले थप लेखेका छन्।

नागरिक उन्मुक्ति पार्टी कांग्रेस, कम्युनिस्टजस्तो नभई भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो भन्दै रेशमले एक अर्कोमा हिलो छ्यापाछ्याप नगर्न आह्वान पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार