१५ बैशाख २०८१, शनिबार

दार्चुलाका दुई प्रहरीमाथि चक्कु प्रहार गरेर आरोपी जंगलतिर फरार



दार्चुला/ आइतबार दार्चुृलाको महाकाली नगरपालिका १ दहका २३ वर्षीय उमेश कुँवरले ड्युटीमा खटिएका दुईजना प्रहरीमाथि चक्कु प्रहार गरेका छन् । कुँवरले

हवलदार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन ।

चक्कुले लागेर ठगुन्ना गम्भीर घाइते भएका छन्। खड्कालाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

चक्कु प्रहार गर्ने कुँवरले पत्नीलाई कुटपिटसहित घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

त्यसपछि सामुदायिक प्रहरी बांगाबगरबाट दुईजा प्रहरी कुँवरलाई पक्राउ गर्न खटिएका थिए।

तर उमेशले प्रहरीलाई देख्नेबित्तिकै चक्कु बोकेर लखेट्न थाले। घरमा पुगेको प्रहरी कुँवरकी पत्नीलाई जोगाउन जुटेको थियो। त्यसक्रममा कुँवरले प्रहरीमाथि नै चक्कु हानेका हुन्।

चक्कु हानेपछि उमेश भागेर जंगलतिर छिरेका थिए। अहिले उनको खोजी भइरहेको दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए।

केही महिनाअघि मात्रै बिहे गरेका उमेशले पत्नीलाई निरन्तर कुटपिट गर्ने गरेको भन्दै उजुरी आएको थियो। कुटपिट भएको थाहा पाएपछि उमेशकी पत्नीको माइती पक्ष प्रहरीमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार