१५ बैशाख २०८१, शनिबार

कोल्टीमा अक्सिजन अभावमा एक सुत्केरीको मृत्यु



कोल्टी/ उपचार अभावमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्लाको ताजाँकोट गाँउपालिका–५ को मदाना डाब्का गाउँकी १३ दिने सुत्केरी अन्सु बुढाको मृत्यु भएको बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका एमडीजीपी डा. रन्जित शाहले बताए ।

श्वास प्रश्वासमा समस्या आएपछि सोमबार सुत्केरी बुढालाई कोल्टी ल्याइएको र कोल्टीबाट थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रिफर गरेको भए पनि समयमा हवाइजहाज नआउँदा सुत्केरीको मृत्यु भएको डा. शाहले बताए । उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा भएको थोरै अक्सिजनले केही समय बचाउन सकिए पनि सोमबार राती विमारीको मृत्यु भएको हो ।

सोमबार दिउँसो खाजा खाएर बसेकी अन्सु बुढालाई एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि तत्काल कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको भए पनि त्यहाँ अक्सिजन नभएको र रातीको समयमा हवाइजहाज नआएका कारण मृत्यु भएको ससुरा जीतबहादुर बुढाले बताए ।

सुत्केरी तथा गर्भवती महिलाका लागि राष्ट्रपति हवाई उद्धारको कार्यक्रम भए पनि आफ्नो पहुँच कतै नभएकाले बुहारीले अकालमा ज्यान गुमाउनुपरेको मृतकका ससुरा बुढाले गुनासो गरे । मृतक बुढाबाट १३ दिन अगाडि शिशु (छोरी) को जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार