१ कार्तिक २०८३, शनिबार

सम्पादक श्रेष्ठ र कलाकार पन्तबीच यस्तो भयो सहमति



काठमाडौं । कमेडी कलाकार हिमेश पन्त र नेपाल प्रहरीको साइबर ब्युरोसमेत कुनै पनि सञ्चारमाध्यममा प्रकाशित समाचारउपर कसैको चित्त नबुझे सम्बन्धित व्यक्ति र निकाय एक मात्र क्षेत्राधिकारवाला निकाय प्रेस काउन्सिल नेपाल जानुपर्नेमा सहमत भएका छन् ।

सामाजिक सञ्जालमा साइबर कानुन आकर्षित हुने सामाग्री निरन्तर लेख्दै आउने क्रममा आफू र परिवारलाई जोडेर जग्गाजमिनसम्बन्धी २ वटा समाचार र अन्तर्वार्ता जनआस्थामा प्रकाशित भएपछि पन्त जनआस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिक सम्पादक किशोर श्रेष्ठविरुद्ध हिजो साइबर ब्युरोमा निवेदन दर्ता गर्न गएका थिए भने हिजै जनआस्थाबाट आफ्ना सम्पादकविरुद्ध १ बर्षदेखि ब्यक्तिगत लान्छना लाग्दै आएको बिषयमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारबाहीका लागि ६२१२ नम्बरको उजुरी दर्ता भएको थियोे ।

पन्तको उजुरीका आधारमा श्रेष्ठलाई आज बिहान घरै पुगेर प्रहरी टोलीले छलफलका लागि ब्युरो जान अनुरोध गरेको थियो ।

ब्युरोमा आजको छलफलमा दुई बुँदे सहमति भएको छ । जसमा कुनै पनि सञ्चार माध्यममा प्रकाशित समाचार चित्त नबुझ्ने पक्षले काउन्सिलको क्षेत्राधिकार गुहार्ने मुख्य विषय थियोे । पन्तले अबदेखि सामाजिक सञ्जालमार्फत व्यक्तिगत लान्छना लगाउन नपाउने लिखित प्रतिवध्दतासमेत जनाइएको छ ।

दुई महिनाअघि जनआस्थाका अध्यक्ष तथा सम्पादक श्रेष्ठलाई एउटा समाचारलाई लिएर प्रहरीले गिरफ्तार गरेपछि सर्वोच्च अदालतले परमादेश जारी गर्दै रिहाइको आदेश दिएको थियो । अदालतको उक्त आदेशमा कुनै पनि समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्न नपाइने,सञ्चारगृह र सञ्चारकर्मीको सामाग्री,सञ्चार साधन जफत गर्न नपाइने स्पष्ट उल्लेख छ । सोही आदेशसमेतका आधारमा पन्तको हिजोको उजुरीलाई साइबर ब्युरोले हेर्न नमिल्ने भन्ने सहमति भएको हो ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार