१७ बैशाख २०८१, सोमबार

उन्मुक्तीको बैठकमा कुटिन थालेपछि आफूहरु भागेको टीकापुरका मेयरको भनाइ




धनगढी/ नागरिक उन्मुक्ती पार्टी (नाउपा) केन्द्रीय कमिटीको काठमाडौको अनामनगरस्थित केन्द्रीय कार्यालयमा भएको बैठकमै कुटपिटको अवस्था आएपछि अहिले रञ्जिता पक्षका पाँच जना नेताहरू त्यहाँबाट बाहिरिएका छन् ।

‘टीकापुरका मेयर रामलाल डगौराले भने, अनामनगरको बैठकमा हामी पाँच जना सहभागी थियौँ, बैठकमा नै हाम्रो टिमलाई नै आक्रमण गरिएको हो’ म र साथी रमेश विकमाथि आक्रमण भयो। हामी टीकापुर महाधिवेशनको सन्देश र निर्वाचन आयोगको निर्णयअनुसार अघि बढ्नुपर्ने पक्षमा थियौँ। रेशमजीलाई अध्यक्षको मान्यता नदिएको अवस्थामा निर्वाचन आयोगको निर्णयअनुसार चल्नु पर्ने कानुनी बाध्यता पनि छ। त्यही कुरा हामीले राख्दा बैठकमै आक्रमण भयो ।

उनले आफूहरू सुदूरपश्चिममा मुख्यमन्त्री लिएर नयाँ गठबन्धनमा जोडिनुपर्ने पक्षमा रहेको बताए । ‘हामी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहितको एजेन्डा लिएर अघि बढ्ने पक्षमा छौँ तर रेशमजीले मन्त्री लिएर पुरानै गठबन्धनमा जाऔँ भन्नुभयो। तर हामीले नयाँ समीकरण बनेकोले पार्टी पनि पश्चगमनमा होइन अग्रगमनमा जानुपर्छ भन्ने अडानमा छौँ।

उनले पार्टीको अहिलेको विवाद अग्रगमनलाई सहयोग गर्ने कि पश्चगमनलाई भन्ने रहेको बताए।

मेयर डगौराले ‘हामी नयाँ गठबन्धनमा अगाडि बढ्दै गर्दा रेशमजीले कांग्रेस नेतृत्वको मुख्यमन्त्रीलाई अघि बढाऊँ भनिनरहनु भएको थियो, महाधिवेशनबाट अध्यक्ष बने पनि रेशम चौधरीलाई निर्वाचन आयोगले बदर गर्‍यो। त्यसो भएकाले अब आयोगको निर्णयअनुसार रञ्जिताकै नेतृत्वमा अगाडि बढ्न तयार थियौँ। तर कानुनी निर्णयभन्दा बाहिर गएर अर्को समूहले हामीमाथि आक्रमण गरेको छ।

उनले संस्थापक केन्द्रीय समितिबाट छानिएर आएका प्रतिनिधिहरूलाई वैधानिक बनाउन जाँदा कानुनी रुपमा निर्वाचन आयोगले प्रश्न उठाइसकेको पनि बताए।

‘हामीले यी कुरा पार्टी बैठकमा उठाउँदा आक्रमण भएको छ, उनले भने, हामी बैठकस्थलबाट भागेर हिँड्यौँ। अब पार्टीले यसबारेमा बैठक बसेर उचित निर्णय लिन्छ। हामी अहिले अध्यक्ष रञ्जितासँग छलफलमा छौँ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार