इनम सापकोटासँगको सम्बन्धमाथि अनुसन्धान, लगानी वोर्डका पूर्वसीईओ भट्ट पक्राउ
काठमाडौ/ लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग उनको निकट सम्बन्ध देखिएपछि थप अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार शनिबार पक्राउ परेका भट्टको म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी गरिएको छ । सार्वजनिक बिदा परेकाले म्याद थपको प्रक्रिया प्रभावित भएको र आइतबार त्यसलाई अघि बढाउने तयारी रहेको उनले बताए ।
प्रहरी स्रोतका अनुसार सापकोटासँगको सम्बन्ध, विभिन्न शक्तिकेन्द्रसँगको सम्पर्क र आर्थिक कारोबारका विषयमा अनुसन्धान केन्द्रित छ । भट्ट शक्तिकेन्द्रबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने गरेको र त्यसबाट प्राप्त भएको भनिएको रकमको स्रोत स्पष्ट नभएको अनुसन्धानमा संलग्न प्रहरीको दाबी छ । यद्यपि, यी विषयमा अनुसन्धान जारी रहेकाले आरोप पुष्टि हुन बाँकी छ ।
सापकोटा पक्राउ परेको घटनासँग जोडेर भट्टमाथि अनुसन्धान अघि बढाइएको हो । सापकोटालाई प्रहरीले करिब २२ दिनअघि पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा छुट्टै टोली परिचालन गरेको छ ।
प्रहरीका अनुसार सापकोटामाथि कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई अदालतमार्फत छुटाउने प्रयास तथा विचाराधीन मुद्दामा प्रभाव पार्न खोजेको आशङ्कामा अनुसन्धान भइरहेको छ । पक्राउ परेका सुशील भट्ट व्यवसायी दीपक भट्टका दाइ हुन् ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग सापकोटाको सम्बन्ध र विभिन्न व्यक्तिसँगको सम्पर्क पनि अनुसन्धानको दायरामा परेको प्रहरी स्रोतले जनाएको छ । राणा पक्राउ परेपछि सापकोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारत जान खोज्दा पक्राउ परेको बताइएको छ । पक्राउका क्रममा उनीसँग एक हजार चार सय अमेरिकी डलर फेला परेको थियो ।
प्रहरीले सुरुमा सापकोटामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो । पछि नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा समेत अनुसन्धान अघि बढाइएको छ ।
यस प्रकरणसँग जोडिएका अन्य व्यक्तिको पहिचानसमेत गरिएको प्रहरी स्रोतको भनाइ छ । अनुसन्धानबाट आवश्यक तथ्य खुलेमा उनीहरूलाई पनि पक्राउ गरिने प्रहरीले जनाएको छ ।
यसअघि काठमाडौँको सामाखुशीस्थित सिटी स्क्वायर मलमा पनि प्रहरीले छापा मारेको थियो । सो मल ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका फरार अभियुक्त गुप्तलाल भूसाल (रोशन) को प्रमुख लगानीमा निर्माण भएको बताइएको छ । प्रहरीको पछिल्लो अनुसन्धानमा उक्त घटनाको सम्बन्ध इनम सापकोटा र चोलेन्द्रशमशेर राणासँग जोडिएको प्रकरणसँग पनि रहेको बताइएको छ ।
प्रहरीले अनुसन्धान अघि बढाइरहेका बेला पक्राउ परेका व्यक्तिहरूबीचको सम्बन्ध, आर्थिक कारोबार र अदालतमा विचाराधीन मुद्दामा हुन सक्ने भनिएको चलखेलबारे थप तथ्य खुल्न बाँकी छ ।




