१७ पुष २०८२, बिहीबार

महाशिवरात्री मनाइदै



धनगढी । आज अाइतबार महाशिवरात्री पर्व । हिन्दू धर्मावलम्बीहरूको महान धार्मिक पर्व शिवरात्रीमा आराध्यदव भगवान शिवको पूजाआजा, ब्रतउपासना, भजनकिर्तन गरि नेपाल सहित हिन्दू धर्मावलम्बी रहेका ठाउँमा धुमधामसंग मनाईदैछ ।

हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री हिन्दु धर्मावलम्बबीहरूको एक प्रमुख धार्मिक पर्व हो । सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा ब्रह्माबाट भगवान शंकर रुद्रका रूपमा अवतरण भएको मानिन्छ । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्ने गर्दछन् । यसैकारण यस पर्वलाई महाशिवरात्री भनिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
शंकर, आशुतोष, शिव, महादेव, रुद्र आदि नामले पुकारिने उनको रूप विचित्रको रहेको धार्मिक ग्रन्थ, पुराण आदिमा उल्लेख छ । भगवना शिवको शरीरमा मसानको भस्म, घाँटीमा सर्पहरूको हार वा माला, कण्ठमा विष, जटामा जगततारिणी पावन गंगा तथा मस्तकमा प्रलयंकर ज्वाला अंकित छ । साँढेलाई बाहनको रूपमा स्वीकार गर्ने शिव अमंगल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन् र श्रीसंपत्तिका दाता मानिन्छन् ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामाकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये शिवरात्रीलाई एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित गरिएको छ । यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवहरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अंग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ ।
शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसंग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ । अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन धनगढीस्थित शिवपुरी धाम लगायत साना शिवालय मन्दिरमा भक्तजनहरुको विहानदेखिनै घुइचो छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार