पहिरोमा एकको मृत्यु
दार्चुला । दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ३ स्थित निर्माणाधीन दार्चुला–तिंकर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मंगलबार बिहान पहिरो खस्दा नौगाड गाउ“पालिका वडा नम्बर ४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए ।
खलंगाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी सडकमाथिबाट आएको पहिरोमा परेका थिए । नौगाड वडा नम्बर ४ का ३१ वर्षीय मानसिंह ठगुन्ना र वडा नम्बर ३ का उधारो ठगुन्ना घाइते भएका छन् ।
घाइते उधारोको टाउकोमा चोट लागेको जिल्ला अस्पतालका स्वास्थ्य सहायक डम्मरदत्त भट्टले जानकारी दिए । मानसिंहको हातमा चोट लागेको छ । दार्चुला–तिंकर सडकमा सोमबार विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो ।
दिउ“सो ओहोरदोहोरमा समस्या हुने भएपछि उनीहरु राति त्यही बाटो भएर व्यासतर्फ जा“दै थिए । दार्चुला–तिंकर सडक योजनाका इञ्जिनियर दिनेश रैखोलाका अनुसार अहिले सो सडक चौडा पार्ने काम भइरहेको छ । राति पानी परेका कारण पहिरो खसेको अनुमान गरिएको छ ।