१५ पुष २०८१, सोमबार

विविध कार्यक्रमसहित शहीद दिवस मनाइयो



धनगढी । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै बुधबार देशभर शहीद दिवस मनाइएको छ ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन एक सय चार वर्षे जहानियाँ राणा शासन, ३० वर्षे निरंकुश पञ्चायती व्यवस्था तथा निरंकुश राजतन्त्रविरुद्ध प्रजातान्त्रिक आन्दोलनहरूमा आफ्नो जीवनको बलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइने गरेको छ । धनगढीमा युवा, विद्यार्थी तथा विभिन्न संघसंस्थाले शहीदको सम्झनामा बुधबार बिहान प्रभातफेरि निकाले । स्वःस्फुर्त युवा समूह, कैलाली बहुमुखी क्याम्पस र ऐश्वर्य बहुमुखी क्याम्पसका विद्यार्थीहरूले शहीदहरूको सम्झनामा प्रभातफेरी निकाल्दै धनगढीको चटकपुरस्थित शहीद दशरथ चन्दको सालिकमा माल्यार्पण गरेका थिए ।
स्वःस्फुर्त युवा समूहका संयोजक चुन्नु केसीले शहीदहरूको बलिदान साकार गर्न राजनीतिक नेतृत्वले ध्यान नदिएको गुनासो गरे ।
अमर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा तथा प्रजातान्त्रिक आन्दोलनका अन्य योद्धाहरूको बलिदान तथा योगदानको सम्मान गर्दै शहीद दिवस मनाइन्छ । निरकुश जहानियाँ राणा शासनविरूद्ध ज्यानको बलिदान गरेका वीर शहीदहरूको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइदै आएको छ ।
प्रभातफेरीमा सहभागीहरूले दलगत राजनीतिका स्वार्थपूर्तिका लागि जोकोहीलाई शहीद घोषणा गर्ने गरिएकोप्रति आक्रोस व्यक्त गरे । कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी तारा खड्काले सवारी दुर्घटनामा मृत्यु भएका, झै झगडा मृत्यु भएका, अथवा कुनै अन्य कारणले मृत्यु भएकाहरूलाई पनि राजनीतिक आवरणमा शहीद घोषणा गर्ने परिपाटीले देश र जनताका लागि ज्यान आहुती गर्ने शहीदहरूको अपमान भएको बताए ।
बिक्रमसम्वत १९९७ साल माघ १० गते निरंकुश जहानिया राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार