१८ बैशाख २०८१, मंगलवार

पेनाल्टी सुटआउटको तयारी पुरा



धनगढी । थारू समुदायको नयाँ वर्ष तथा माघी पर्वको अवसरमा कैलालीको हसुलियामा हुने साँस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउटको तयारी पुरा भएको छ ।
माघी पर्वलाई विशेष तथा उपलब्धिमूलक बनाउन आज (सोमबार) कैलारी गाउँपालिकाको हसुलियामा हुने कार्यक्रमको लागि हसुलिया बजारलाई दुलहीझै सिंगारिएको छ । विभिन्न ठाउँबाट कार्यक्रममा आउने पहुनाका लागि ठाउँठाउँमा स्वागत गेट निर्माण गरिएको छ । पहुनाहरूलाई स्वागतका लागि १२ वटा स्वागत गेट निर्माण गरिएको कार्यक्रम मूल आयोजक समितिका संयोजक पञ्चराम चौधरीले बताए ।
कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ क्लब र हिमशिखर क्लब हसुलियाले पहिलो पटक साँस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट कार्यक्रम आयोजना भइरहेको छ । कार्यक्रम हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा हुने भएको छ । कार्यक्रमको उद्घाटन कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीद्वारा हुने आयोजकले जनाएको छ ।
‘हमार कला, संस्कृति हमार पहिचान, समृद्ध बनाइक लाग आवश्यक बा अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिने कार्यक्रममा परम्परागत र आधुनिक झुमरा, सखिया नाच, मुग्रहुवा नाच, धमार, मघौटा, रानाथारू र कठरिया थारू होरी नाच लगायतका साँस्कृतिक कार्यक्रम रहने जनाइएको छ ।
परम्परागत थारू संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, हसुलिया बजारको प्रवद्र्धन गर्ने र स्वस्थ जीवनका लागि खेलकुद आवश्यक रहेको सन्देश छड्ने उद्देश्यले कार्यक्रम गर्न लागेको संयोजक पञ्चराम चौधरीले बताए ।
सा“स्कृतिक टोली र पेनाल्टी सुटआउट टोली कैलारी गाउँपालिकाको नौ वटै वडा अध्यक्षहरूको समन्वयमा हरेक वडाबाट एक÷एक टोली रहेको छ । सा“स्कृतिक टोली गाउँपालिकाभित्रैबाट मात्रै समावेश गरिएको छ भने पेनाल्टी सुटआउट टोली बाहिरबाट पनि सहभागी भएको जनाइएको छ । सांस्कृतिक टोलीमा एक आगन्तुक टोली सहित २० र पेनाल्टीका लागि ४० टोली दर्ता भएको जनाइएको छ ।
फुटबल पेनाल्टी सुटआउटमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद एक लाख एक हजार एक सय ११ रुपैयाँ र उपविजेता टिमलाई ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रम आयोजनाका लागि नौ लाख ४९ हजार रुपैयाँ बजेट खर्च हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार