साना किसान कृषि सहकारीमा विवाद बढ्यो
बौनिया । कैलालीको बौनियामा रहेको साना किसान कृषि सहकारी संस्थाको नव निर्वाचित कार्यसमितिमा पदाधिकारी चयनको विषयमा विवाद बढेको छ ।
संस्थाको नयाँ सञ्चालक समिति गठन गर्दा विधानको प्रावधान विपरित तथा विधि र प्रक्रिया मिचेर चयन र मनोनयन गरिएको भन्दै कार्यसमितिका केही सदस्य तथा शेयर सदस्यले विरोध गरेका छन् ।
उनीहरूले नयाँ कार्यसमिति खारेजीको माग गर्दै सामूहिक रूपमा निवेदन दिएका छन् । संस्थाका ६ जना नवनिर्वाचित सदस्य तथा एक सय २० जना शेयर सदस्यले हस्ताक्षर गरेर निवेदन दिएको बताइएको छ ।
मनोनित गरिएका सञ्चालक समितिका तीन जना सदस्य नेपाल सरकारको सरकारी जागिरे रहेको उनीहरूको दावी छ ।
गत ७ गते संस्थाको १३ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति गठन भएको थियो ।
संस्थाको सञ्चालक समितिका मनोनित पदाधिकारी बलराज भाट सरकारी विद्यालयका राहत शिक्षक, थमराज बिनाडी नेपाल सरकारको स्थायी कर्मचारी तथा पूर्णबहादुर बिष्ट लम्कीचुहा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रहेकाले उनीहरूको मनोनयन विधान विपरित भएको निवेदनमा उल्लेख छ ।
संस्थाको विधानको दफा २४ को उपदफा ३ र ४ बमोजिम सरकारी वा गैरसरकारी संस्थामा जागिरदार व्यक्ति सञ्चालक समितिको पदमा नियुक्ति वा बहाल हुन नसक्ने उल्लेख गरिएको छ । तर, सोही नियम ३ को (ङ) मा भने उल्लेखित व्यक्तिलाई संस्थाको सञ्चालक समिति बाहेक सल्लाहकार वा अन्य समितिमा मनोनयन गर्न सकिने व्यवस्था रहेको छ ।




