प्रारम्भिक कक्षा पढाईका लागि अनुदान
धनगढी । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमले गुणस्तरीय प्रारम्भिक कक्षा पढाईका लागि विद्यालयलाई अनुदान प्रदान गर्ने भएकोे छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमले कैलालीका एक सय ७९ विद्यालयलाई दुई लाख रुपैयाँका दरले अनुदान दिने जनाइएको छ ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत आइतबार उर्मास्थित सज्जन आधारभूत विद्यालयमा, आयोजित विद्यालय व्यवस्थापन अनुदान कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनुदान बारे जानकारी दिइयो ।
विद्यालयको विभिन्न शैक्षिक, आर्थिक, भौतिक तथा प्रशासनिक पक्षहरूको व्यवस्थापन गर्न, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा विद्यालयको नियमित कार्यक्रम तथा योजनामा प्रारम्भिक कक्षा पढाइ सुधारका क्रियाकलाप समावेश गर्न, प्रारम्भिक कक्षामा विद्यालय प्रशासनको ध्यान तथा लगानी केन्द्रित गरी आधारभूत शिक्षाको दीर्घकालीन विकास गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन अनुदानको व्यवस्था गरिएको जानकारी दिइयो ।
नेपाल सरकारको प्रारम्भिक कक्षा पढाई कार्यक्रमको प्राविधिक सहयोगमा प्राप्त हुने अनुदान रकमबाट छापामय वातावरणको कक्षा कोठा निर्माण, साथीदौतरी शिक्षा तालिम, पढाई महोत्सव, शिक्षक अभिभावक सम्मेलन, पढाई शिविर र स्थानीय स्तरमा शैक्षिक सामग्रीको निर्माण र प्रयोग गर्ने कार्यमा खर्च गरिने बताइएको छ ।
यसले विद्यालयमा अभिभावकहरूको उल्लेख्य सहभागितामा बृद्धि विद्यालयको शैक्षिक सामग्रीको उपलब्धता, विद्यालय समय वाहेक अन्य शैक्षिक गतिविधिमा अभिभावकको सहभागीता, विद्यालय सुधार योजनामा प्रारम्भिक कक्षा पढाईका गतिविधीहरूको निरन्तरता आउने राष्टिय प्रारम्भिक कक्षा कार्यक्रमका क्षेत्रीय फिल्ड संयोजक प्रतीभा चौधरीले जानकारी दिइन् ।
अनुदानले विद्यालयमा कक्षा १ देखि ३ सम्म छापामय वातावरण कक्षा कोठा निर्माण गर्ने, शिक्षक अभिभावकहरूको नियमित अन्तरक्रिया गर्ने, पढाई महोत्सव, पढाई शिविर, अभिभावकलाई घरमा पढाई वातावरण प्रवद्र्धन गर्न र नियमित रूपमा विद्यालय भ्रमण गरी बालबालिकाको सिकाई उपलब्धि जानकारी हासिल गर्न शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाईलाई प्रवद्र्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक र शिक्षक अभिभावकबीच नियमित छलफल गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यपक देवराज ओझाले बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष माधवराज राना, वडा सदस्य दिलसरी विक, प्रारम्भिक कक्षा पढाई उपसमितिका संयोजक खुशीराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर चौधरीको अध्यक्षतामा भएको थियो ।




