२८ मंसिर २०८२, आईतवार

वैदेशिक रोजगारबाट फर्केकाहरूको सञ्जाल बिस्तार हुँदै



बुटवल । वैदेशिक रोजगारबाट फर्केकाहरूको राष्ट्रिय सञ्जाल रिटर्नी माइग्रेन्ट नेपालको संगठन बिस्तारले तीब्रता लिन थालेको छ ।
देशभर सञ्जाल निर्माण अभियानमा सक्रियताका साथ लागेको सो संस्थाको प्रदेश नम्बर ५ को प्रथम सम्मेलन शनिबार बुटवलमा भएको छ । प्रदेश ५ का सबै जिल्लाबाट सहभागिता जनाएका रिटर्नीहरूले सो कार्यक्रम मार्फत सामुहिक लगानीको अवधारणालाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउने प्रतिवद्धता गरेका छन् ।कार्यक्रमको प्रमुख अथिति रहेका राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले वैदेशिक रोजगारबाट फर्केकाहरू नै देशको आर्थिक रूपान्तरण, विकास र समृद्धिको सम्वाहक भएको बताए । रिटर्नीहरूको सीप र अनुभव यो राष्ट्रको लागि उपयोग गर्ने, रिटर्नीहरूलाई समाजमा पुनस्र्थापित गर्ने र आर्थिक उपार्जनमा जोड्ने कार्यमा राष्ट्रिय युवा परिषद सधै सहयोग गर्छ, उनले भने ।
कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीले वैदेशिक रोजगारबाट फर्केका समग्र अवस्था, संस्थाको उद्देश्य, अभियानका उपलब्धि, गतिविधि, आगामी कदम, सरकारसँगको अपेक्षाका बारेमा प्रजेन्टेसन मार्फत सहभागीहरूलाई प्रस्ट्याएका थिए ।
उनले रिटर्नीहरूको समस्या र सम्भावनालाई राज्यको नीति कार्यक्रम र योजनामा समेट्न सकेको खण्डमा मात्रै विदेशबाट आर्जित सीप, अनुभव र पुँजीको उपयोग हुने र राज्यको समृद्धिको यात्रामा सहयोग पुग्ने बताए । प्रदेश सरकार तथा स्थानीय तहका सरकारले आ–आफ्ना क्षेत्रमा बसोबासरत रिटर्नीहरू लक्षित कार्यक्रम ल्याउन ढिला नगर्न सुझाव दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य विष्णु पन्थी, तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरे, गाउँपालिका महासंघ प्रदेश ५ का अध्यक्ष लगायतले शुभकामना मन्तव्य राखेका थिए । आफू स्वयं वैदेशिक रोजगारबाट फर्केकाले रिटर्नीहरूको आमस्याका बारेमा जानकार रहेको र रिटर्नीहरू एकीकृत भएकोमा खुशी व्यक्त गर्दै मेयर घिमिरेले आफ्नो नगरपालिका रिटर्नीहरूको अभियानमा साथ रहने र आवस्यक समन्वय गर्न तयार रहेको बताए ।
सम्मेलनले कृष्णप्रसाद भुसालको अध्यक्षतामा २३ सदस्यीय प्रदेश ५ कार्यसमिति चयन गरेको छ । कार्यक्रम संस्थाका केन्द्रीय महासचिव लक्ष्मीप्रसाद आचार्यले सञ्चालन गरेका थिए । सो क्रममा संस्थाका लगानी बोर्ड सदस्य राजेन्द्र देवकोटाले सामुहिक लगानीको अवधारणा र अबको सम्भावनाबारे आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा अभियान्ता डिएल शर्मा संस्थाका केन्द्रीय सदस्यहरू, सल्लाहकार तथा गण्डकी प्रदेशका अध्यक्ष नेत्रनारायण थनेत लगायतको आतिथ्यता रहेको थियो । सो कार्यक्रम संस्थाकी ५ नम्बर सयोजक सीता बस्यालको अध्यक्षतामा भएको थियो ।
संस्थाले १३ जिल्लामा जिल्ला सम्मेलन र तीनवटा प्रदेशमा प्रदेश सम्मेलन गरेर सञ्जाल बिस्तारलाई व्यापकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार