द्वन्द्वपीडित महिलाहरू जीवनगाथा सुनाइदै
धनगढी । द्वन्द्वपीडित महिलाहरूको कथालाई समेटेर आज धनगढीमा जीवनगाथा सुनाउने कार्यक्रम हुने भएको छ ।
महिला अधिकार र मानवअधिकारको सवालमा कार्यरत विभिन्न संघ÷संस्थासंगको सहकार्य, धनगढी उपमहानगरपालिकाको सह–आयोजना तथा युएन वुमेन, द्वन्द्वपीडित साझा चौतारी, इक्वेल एक्सेस नेपाल, द स्टोरी किचेन लगायतका संस्थाको आयोजनामा ‘तोडौं मौनता : अन्त्य गरौं दण्डहिनता’ कार्यक्रम हुने शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
कार्यक्रममा द्वन्द्वपीडित तथा प्रभावित महिलाहरूको डिजिटल कथाकथन, चित्रकला तथा नाट्य प्रस्तुतिमार्फत जीवनगाथा सुनाइने द्वन्द्वपीडित साझा चौतारीका सुदूरपश्चिम प्रदेश संयोजक गणेश मल्लले जानकारी दिए ।
नेपालमा तत्कालीन विद्रोही नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) को १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा १७ हजार बढी नेपालीले ज्यान गुमाउनु परेको थियो । सो अवधिमा राज्य र विद्रोही पक्षबाट एक हजार चार सय भन्दा बढी वेपत्ता पारिएका थिए । २०६३ साल मंसिर ५ गते नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो ।
संयोजक मल्लले द्वन्द्वका क्रममा महिलाहरूले भोग्नु परेको हिंसा र पीडा अझै सम्बोधन हुन नसकेको बताइन् ।
द स्टोरी किचेनकी अध्यक्ष जया लुइटेलले शान्ति सम्झौता भएपछि पनि महिलाहरू हिंसा भोग्न बाध्य रहेको बताइन् ।
इक्वेल एक्सेस नेपालका कार्यकारी निर्देशक उपेन्द्र अर्यालले द्वन्द्वकाबेला बलात्कार, यौनहिंसा र यातनाका घटनाहरू भोग्न बाध्य महिलाहरूका लागि न्यायको वातावरण बनाउनका लागि कार्यक्रम गरिन लागेको बताए ।




