बाल उद्यानभित्र रिसोर्ट
टीकापुर । टीकापुर नगरपालिकाको छेउमै चिल्ड्रेन पार्क रहेको छ । पार्कभित्र चिप्लेटी, ढिकीच्याउ र पिङ छन् । बस्नलाई सिमेन्टका बेन्च निर्माण भएका छन् । त्यसको छेउमै बाँसले बनाएको झुपडी रहेको छ । झुपडीमा व्यानर झुण्डिएको छ र लेखिएको छ– टीकापुर गार्डन रेष्टुरेण्ट ।
सो रेष्टुरेण्टको बाहिर दुई वटा बाँसका कटेज निर्माण गरिएका छन् । कैलालीको दोस्रो नगरपालिकाका रूपमा चिनिएको टीकापुरमा २०५३ सालमा सो उद्यान स्थापना भएको थियो ।
“नगरपालिकाले व्यवस्थापनमा उचित ध्यान दिन सकेन” स्थानीय रामबहादुर नागार्जी भन्छन्– “शुरुशुरुमा चिल्ड्ेरन पार्क बालबालिकाका लागि आकर्षण बनेको थियो, तर व्यवस्थापनका लागि कुनै चासो नभएपछि सो उद्यान कुरूप बन्यो ।”
टीकापुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरू आएपपछि २०७५ सालमा सो पार्कलाई ठेक्कामा दिइएको छ । वार्षिक एक लाख रुपैयाँ भाडा तिर्ने सर्तमा स्थानीय वीरबहादुर खडका (विर्ख) ले सो बाल उद्यान ठेक्कामा लिएपछि बाल उद्यानभित्र रिसोर्ट खोलेका छन् ।
“यहाँ (चिल्ड्ेरन पार्क) भित्र पुरै बोटविरुवा र भौतिक संरचनाहरू जीर्ण बनेका थिए” उनले पार्कको पुरानो अवस्थालाई स्मरण गर्दै भने– “मैले ठेक्कामा लिएपछि टुटेफुटेका संरचनाहरू मर्मत, रंगरोगन गर्दै अहिले स्वच्छ र व्यवस्थित बनाएको छु ।”
उनले उद्यानमा दैनिक ५० देखि ६० जना बालबालिकाहरू खेल्न आउने गरेको बताए । “हामीले बालबालिकाबाट कुनै शुल्क लिदैनौं” उनले भने– “रिसोर्टबाट खाजा नास्ता बेच्छौं, त्यही आम्दानी हो ।” उनले रिसोर्टमा धुम्रपान तथा मद्यपान बन्देज गरिएको बताए ।
“मैले पार्कलाई रेष्टुरेण्टमा परिवर्तन गर्न चाहेको होइन” उनले भने– “नगरपालिकासंग ठेक्का सम्झौता गर्दा स्थायी भौतिक संरचना निर्माण गर्न नपाउने र पार्कलाई व्यवस्थित गर्ने भनिएको छ ।”
उनले पाँच वर्षका लागि ठेक्का सम्झौता गरिएको सो पार्कलाई थप व्यवस्थित गर्ने प्रयासमा रहेको बताए । उनले पार्कभित्र बालबालिकाका लागि आवश्यक खेलकुद सामग्री राख्ने योजना भए पनि बालबालिकाले टुटफुट गर्ने, बिगार्ने लगायतका डरले सताएको बताए ।
उनले रेष्टुरेण्ट सञ्चालन भएपछि अभिभावकसहित बालबालिकाहरू बिदा समयमा खेल्न आउने गरेको बताए ।
सम्बन्धित समाचार




