निर्मला हत्याकाण्ड : जन्मदिनमा सडकमै होम
धनगढी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरका १३ वर्षीय बालिका निर्मला पन्तको जन्मदिन पारेर बुधबार सडकमै होम गरिएको छ ।
नागरिक संघर्ष समितिको अगुवाईमा उनका परिवार तथा आफन्त, अधिकारकर्मी सहित स्थानीयले बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल गेट र धर्नास्थलबीचको सडकमा होम गरेको जनाइएको छ ।
निर्मलाको फोटो राखेर धार्मिक परम्परा अनुसार पण्डित केशवप्रसाद उपाध्यायले पूजा गरेका थिए । निर्मलाका आमा दुर्गादेवी पन्तसहितका नागरिक संघर्ष समितिका पदाधिकारी, अधिकारकर्मी आदि सो पूजामा सहभागी रहेका थिए ।
नागरिक संघर्ष समितिका सदस्य एवं अधिकारकर्मी शारदा चन्दले निर्मलाको जन्मदिनको अवसरमा उनको आत्माका चिरशान्तिको कामना गरिनुका साथै सरकारको सदबुद्धि पलावस भन्ने उद्देश्यले होम गरिएको बताइन् ।




