निर्मलाका लागि न्याय : मुख्यमन्त्रीको कार्यालयमै पोष्टर टाँसियो
धनगढी । मंगलबार मध्यान्ह, करिब १२ बजे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सुनसान थियो । त्यत्तिकैमा तीन जना युवा निर्मला पन्तको तस्बिरसहितको ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोष्टर सहित मुख्यमन्त्रीको कार्यालयको मुल प्रवेशद्वारमा उभिए ।
मंगलबार नागरिक समाज कञ्चनपुर र कैलालीको संयुक्त आयोजनामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय घेराउ गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, मुख्यमन्त्री त्रिलोचन भट्ट कार्यालयमा अनुपस्थित भएपछि पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको थियो ।
पूर्व निर्धारित कार्यक्रम स्थगित भए पनि ती तीन युवाले निर्मलाका निम्ति न्यायको माग गर्दै नाराबाजी गर्न शुरु गरे । उनीहरूको नाराबाजीसँगै वरपरबाट युवाहरू जम्मा हुन थाले । युवाहरूले कार्यालय अगाडि नाराबाजी गरिरहँदा अन्य केही युवाले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोष्टरहरू मुख्यमन्त्रीको कार्यालयका भित्ता तथा बोर्डहरूमा टास्न थाले । उनीहरूले टाँसेका पोष्टर प्रहरीले निकाल्न थाल्यो ।
नाराबाजी गरिरहेका युवाहरू त्यसपछि झन् आक्रोशित बने । उनीहरूले प्रधानमन्त्री केपी ओली विरुद्ध नाराबाजी गरे भने गृहमन्त्री रामबहादुर थापाको राजिनामा माग गरे । प्रहरीले पोष्टर उप्काउने काम नरोकेपछि आक्रोसित युवाहरूले प्रधानमन्त्रीको पुत्ला समेत दहन गरेका थिए ।
नेपाल विद्यार्थी संघ, कैलालीका कार्यवाहक अध्यक्ष भेष बमले भने– “निर्मलाका निम्ति न्याय माग्दा सरकार दमनमा उत्रिन थालेको छ ।” उनले अझैं पनि सरकारले निर्दोषलाई दोषि बनाएर प्रस्तुत गर्ने नाटक गरिरहेको बताए ।
युवाहरूले मुख्यमन्त्री कार्यालय अगाडि दुई घण्टासम्म धर्ना समेत दिएका थिए ।
युवाहरूले प्रदेश सभा अगाडि पनि पोष्टर टाँसेका थिए ।




