१० श्रावण २०८१, बिहीबार

हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम शुरु



धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा शनिबारदेखि हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम शुरु भएको छ ।
शनिबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सेती प्रादेशिक अस्पतालमा आफूले हात्तीपाइले रोग विरुद्धको औषधी खाएर अभियानको आरम्भ गरे । त्यस्तै, कैलाली र कञ्चनपुरका प्रायः स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले औषधी सेवन गरेर कार्यक्रमको शुरुवात गरेका थिए ।
हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले औषधीबारे गलत तथा भ्रामक प्रचार भइरहेकोप्रति सजग हुन सबैमा आग्रह गरे । मन्त्री सुवेदीले भने– हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरेर मानव स्वास्थ्यमा कुनै पनि किसिमको असर गर्दैन । तर, अझैं पनि केही पढेलेखेका तथा आफूलाई बुद्धिजिवी भन्नेहरूले नै हात्तीपाइले रोग विरुद्धको औषधिबारे गलत तथा भ्रामक प्रचार गरिरहेको देखिनु बिडम्बना हो ।
हात्तीपाइले रोग निवारण कार्यक्रमका क्रममा नै शनिबार धनगढी उपमहानगरपालिकाप्रमुख नृपबहादुर वड र वडा नम्बर १६ का अध्यक्ष लक्ष्मीनारायण चौधरीले हात्तीपाईले विरुद्धको औषधी सेवन गरेर अभियानको सुरुवात गरे ।
सो अवसरमा नगर प्रमुख वडले एक सातासम्म हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सञ्चालन हुने बताए । उनले उपमहाननगरपालिकाका हरेक नागरिकलाई औषधी सेवन गर्न आग्रह गरे । उनले नगरपालिकाका ८० देखि ९० प्रतिशत व्यक्तिलाई औषधी सेवन गराउने लक्ष्य लिइएको बताए ।
सन् २०१३ मा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिएको थियो । प्रदेशका पहाडी सात जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सफल भए पनि आठौं चरणमा पुग्दा समेत कैलालीमा भने अपेक्ष“कुत रूपमा सफल हुननसकेको तथ्यांकले देखाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुरमा हात्तीपाइले रोग विरूद्धको औषधि यहि वर्षमात्र खुवाइने छ भने कैलालीमा भने अर्को वर्ष पनि खुवाउनुपर्ने देखिएको छ ।
कैलालीमा हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गर्ने प्रतिशत आर्थिक वर्ष २०७५÷७६ मा ६९ प्रतिशत मात्र रहेको थियो । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने प्रतिशत कमजोर भएका कारण कैलालीमा नौ चरणको अभियान पनि सञ्चालन गर्नुपर्ने भएको छ ।
कैलाली स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार कैलालीमा गत वर्ष आठ लाख २९ हजार १३ जनसंख्या मध्ये छ लाख ३५ हजार तीन सय सात जनाले हात्तीपाइले रोग विरूद्धको औषधी सेवन गरेका थिए ।
कैलाली स्वास्थ्य कार्यालयले यस वर्ष जिल्लाको कुल जनसंख्याको ८० प्रतिशतलाई हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गराउने लक्ष्य लिएको छ ।
त्यस्तै, पा“च लाख १७ हजार दुई सय ५० जनसंख्या रहेको कञ्चनपुर जिल्लामा गत आर्थिक वर्ष २०७५÷७६ मा तीन लाख ८६ हजार दुई सय ५० जनाले हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गरेका थिए । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख सिद्धराज भट्टले यस वर्ष ८५ प्रतिशत जनसंख्यालाई हातीपाइले रोग विरूद्धको औषधी सेवन गराउने लक्ष्य लिइएको बताए ।
नेपाल सरकारले सन् २०२० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्सा जिल्लाबाट हात्तीपाइले रोग विरूद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो ।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरसहित देशका १३ वटा जिल्लामा यस वर्ष हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन गरिने जनाइएको छ ।
स्वास्थ्यकर्मीका अनुसार यो औषधि खाली पेटमा खानुहुंदैन । शरीरमा हात्तीपाईले रोगको परजीवि भएका व्यक्तीहरूमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने समस्या देखिनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नु पर्ने स्वास्थ्यकर्मीहरू बताउछन् । ती लक्षणहरू केहि घण्टा भित्रमा आफैं हराएर जाने हुन्छ । केही गरी ती लक्षणहरू लामो समयसम्म रहिरहेमा नजिकको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार