जानकी गाउँपालिकाले लागू गर्यो विद्यालयलाई नतिजामा आधारित अनुदान
टीकापुर/ कैलालीको जानकी गाउँपालिकाले विद्यालयको नतिजामा आधारित अनुदान कार्यक्रम लागू गरेको छ । पालिकाले एक कार्यविधि बनाई सबै विद्यालयको नतिजाका आधारमा मूल्याङ्कन गरेर उत्कृष्टताका आधारमा अनुदान दिएको छ ।
शैक्षिक गुणस्तर बढाउन विद्यालयलाई प्रोत्साहित गर्ने उद्देश्यले छ वटा सूचक बनाई २५ अंकभार दिएर एसइइ, कक्षा ८ को नतिजाका आधारमा विद्यालयको मूल्यांकन गरेर अनुदान दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताए ।
शैक्षिक सत्र २०८० मा मावितर्फ उत्कृष्ट भृकुटी मावि सुवर्णपुरले चार लाख, दोस्रो जनता मावि मुनुवाले दुई लाख ५० हजार, तेस्रो अरूणोदय मावि खैरीफाँटाले एकलाख पचास हजार पाएको छ । आधारभूत विद्यालयतर्फ पहिलो राष्ट्रिय आधारभूत विद्यालय खैरीपुरले तीन लाख र दोस्रो हिमालय आधारभूत विद्यालयले दुई लाख पाएको छ ।
उत्कृष्ट विद्यालयलाइ नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठले चेक तथा प्रमाणपत्र प्रदान गर्दै विद्यार्थीलाई कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थीको प्रतिभा बढाउने काम गरेकोमा गाउँपालिकाका कामको प्रसंशा गरिन ।
गाउँपालिकाले पालिका स्तरीय शैक्षिक कार्यक्रम राखी पुरस्कार वितरण गरेको छ । शुक्रबार महेन्द्र शिशु मावि धर्मापुरमा भएको कार्यक्रममा पालिकाभरीका ११ वटा माविका विद्यार्थीहरूबीच गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, विद्यार्थीको चित्रकला प्रतियोगिता गराएको छ । विभिन्न विधाका उत्कृष्ट प्रतियोगी र मेरो विद्यालयको परिवेश शीर्षकमा भएको निवन्ध प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
शिक्षक विद्यार्थीलाई एकै ठाउँमा भेला पारेर बालबालिकाको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले गरिएको कार्यक्रमका लागि पालिकाले १५ लाख खर्च छुट्याइएको छ ।
जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीलेनतिजामा आधारित अनुदानले राम्रोलाई प्रोत्साहन र कमजोरलाई प्रगतिका लागि उत्साहित गर्ने भएकोले सबै विद्यालयमा शिक्षाको गुणस्तर बढ्ने अपेक्षा गरेको बताए