एमालेको मिसन ०८४ पतन हुन्छ रावलले भने : मातृभूमि जागरणबाट राष्ट्रवादी दल खोल्छु
काठमाडौ/ नेकपा (एमाले) को संगठित सदस्यसमेत नरहने गरी कारबाहीमा परेका पूर्वउपाध्यक्ष डा. भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको मिसन ०८४ पतन हुने दाबी गरेका छन् । उनले आफ्ना प्रश्नको जवाफ नदिए एमालेको मिसन ०८४ फेल हुने संकेत गरे ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे उनले ओलीलाई प्रश्न गरे पार्टीलाई किन विकृतिमा धकेल्नुभयो, पार्टीपंक्ति कुबाटो र दुषित ठाउँमा धकेल्नुभयो, ।’ उनले थपे अध्यक्ष ओलीलाई गुठी विधेयकमा प्रश्न उठेपछि पछाडि फर्किएको तत्कालीन अवस्थाको पनि स्मरण गराएका छन् ।
रावलले भने गुठी विधेयक ल्याएर प्रश्न उठेपछि पछि हटेको होइन , होलीवाइन पिएर के के गर्नुभएछ सम्झिनुहोस् । कथित संसद् अवरोध गरेको कुरा सम्झिनुहोस् ।
रावलले पत्रकार सम्मेलनको अधिकांश समय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखे ।
उनले भने भ्रष्टाचार र हिनामिनामा मुछिएका ठूला भनिएकाहरूलाई जोगाउने काम ओलीले गरेका छन् । उनले आक्रोश पोख्दै भने ओलीका कारण अन्तर्राष्ट्रिय सम्बन्ध पनि फितलो बनेको छ ।
अहिले देश र जनताको अवस्था दयनीय बनाइएको छ रावलले भने सत्ताको बागडोर सम्हालेकाहरूले भ्रष्टाचारलाई बढावा दिने काम गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप पनि रावलले लगाए ।
आफूले पाँच दशकसम्म काम गरेको एमालेमा ओलीबाट भएको क्रियाकलापको विरोध गरेको पनि स्मरण गर्दे उनले भने एमालेबाट निकालिएपछि देश र जनताको सर्वोपरि हितका लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको बताए।
रावलले एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताउँदै उनले पार्टी बनाउनेलाई सदस्यबाट निकालेको दावी पनि गरे।
उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय ओलीले आफूप्रति गरेको चरम प्रतिशोधको एउटा उदाहरण भएको पनि बताए ।
रावलको प्रश्न : पार्टी सदस्य नै नभएको मान्छेलाई स्पष्टीकरण सोधिन्छ ?
पत्रकार सम्मेलनमा बोल्दै रावलले आफूलाई सोधिएको स्पष्टीकरणबाट आफैं छक्क पर्न पुगेको बताए । रावलले भने स्पष्टीकरण वा दोषपत्र भन्ने द्विविधामा परे।
कात्तिकमा ६ स्पष्टीकरण हात पर्यो । मैले पत्रलाई राम्रोसँग गम्भीर भएर पढेँ । हालसम्मको एमालेको इतिवृतान्तको सम्झना भयो, स्पष्टीकरण पत्र हो कि दोषपत्र भन्ने द्विविधा भयो, पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ । मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन, म छक्क परेँ उनले भने ।
‘पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र ? रावलले आफ्नो नाम र पद उल्लेख नहुनुलाई केपी ओली गुटको पूर्वाग्रह र चरम द्वेष देखिएको बताए । उनले भने यसरी स्थान उल्लेख नहुनु केपी ओली गुटको म प्रतिको पूर्वाग्रह र चरम द्वेष र निषेधात्मक मनस्थितिको प्रतिबिम्ब हो ।
मलाई ओलीलाई बधाई दिनबाट समेत रोकियो, जिम्मेवारी दिनेबारे कसैले छलफल गरेनन्
पत्रकार सम्मेलनमा लामो बोलेका रावलले पार्टीबाट आफ्नै कारणले बाहिरिएको भनी प्रचार गरेको भन्दै त्यसप्रति आपत्ति जनाए । महाधिवशेनबाट पारित विधानमा पदाधिकारीमा दिएको उम्मेदवारी केन्द्रीय सदस्यमा स्वतः नरहने भएकाले मैले केन्द्रीय सदस्यमा कसरी जिते भन्दै सपथ लिन नमानेको हुँ ।
रावलले भने, अहिले आएर सदस्य पदमा म निर्वाचित नभएको भनेर उल्लेख भएको देख्दा सोध्न चाहान्छु, महाधिवेशनको बन्द सत्रमा गरिएको घोषणा ठिक थियो कि अलिहे पत्रमा फरक किसिमले लेखिएको कुरा साँचो हो ?
रावलले पार्टीको जिम्मेवारी दिनेबारे अध्यक्ष केपी शर्मा ओली वा उनी पक्षका कुनै पनि नेताले आफूसँग परामर्श नगरेको दाबी गरे। पत्रमा मलाई आफ्नै कारणले कार्यकारी भूमिकाबाट बाहिरिएको आरोप लगाइएको रहेछ, उनले भने, ‘के जिम्मेवारीबारे तपाईं अध्यक्ष केपी शर्मा ओली लगायत कसैले छलफल गरेको थियो ? पार्टीमा पाँच दशक काम गरेको र अध्यक्षमा उम्मेदवारी दिएको मसँग अध्यक्ष मण्डल वा तपाईंबाट कुनै छलफल गरिएन।
उनले थपे, त्यसरी नै महाधिवेशनपछि तपाईं लगायत जिम्मेवारीबारे कसैले पनि कहिल्यै कुरा गरेन। यस्तो तथ्यमाथि पर्दा हाल्न आफ्नै कारणले बाहिरिएको भन्नु लज्जास्पद छ।
उनले सल्लाहकार परिषद्को सदस्यमा बस्न नमाने भन्ने एमालेको आरोपको पनि खण्डन गरे। उनले जिम्मेवारी दिनुअघि सम्बन्धित व्यक्तिसँग परामर्श गर्ने एमालेको सामान्य प्रचलन भए पनि आफूसँग कुनै सल्लाह नगरिएको बताए।
जिम्मेवारी दिनुअघि सम्बन्धि व्यक्तिसँग परामर्श गर्नु र निजको राय लिनु नेकपा एमालेको जन्मकालदेखि नै गरिएको अभ्यास हो, तर महाधिवेशनको समापन बैठकमा महाधिवेशनबाट निर्वाचित अध्यक्ष लगायतलाई पराजित अध्यक्षका उम्मेदवारले बधाई ज्ञापन गर्ने सामान्य परम्परा र अभ्यास अनुरुप मैले बधाई ज्ञापन गर्छु भन्दा त्यसो पनि गर्न नदिइएको तितो पृष्ठभूमिमा स्थिति सामान्य बनाउन महाधिवेशनपछि तपाईं वा तपाईं पक्षधर नेताले मसँग जिम्मेवारीबारे कुरासम्म गरिएको थिएन उनले नयाँ कुराको खुलासा समेत गरे ।
सल्लाहकार परिषद्को जिम्मेवारी दिएको आफूले सञ्चारमाध्यमबाट मात्रै थाहा पाए, मलाई जानकारी नै नदिइ सल्लाहकार परिषद्को सदस्य बनाएको भए पनि यदि मलाई साँच्चै त्यही जिम्मेवारीमा पनि स्वच्छ मनले राख्न खोजेको भए मेरो असहमतिपछि मलाई बोलाएर सल्लाहकार परिषद्मा राख्नुको कारणबारे विधिवत जानकारी गराइन्थ्यो होला नि उनले भने ।
रावलको ओलीलाई प्रतिप्रश्नः तपाईंले चाहिँ माधव नेपाल र झलनाथ खनालसँग अध्यक्षमा किन प्रतिस्पर्धा गरेको ? डा. रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले चाहिँ माधव नेपाल र झलनाथ खनालसँग अध्यक्ष पदमा किन प्रतिस्पर्धा गरेको भनेर प्रतिप्रश्न गरेका छन्।
उनले पार्टीको दसौँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा ओलीले किन उठेको भनेर प्रश्न गरेको सुनाउँदै उक्त प्रतिप्रश्न गरे । मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो, तपाईं केपी ओलीले चाहिँ आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा किन प्रतिस्पर्धा गरेको हो ?
रावलले दसौँ महाधिवेशनमा अध्यक्ष उठेयता ओलीको खेदाइमा परेको आशय व्यक्त गरे ।
मातृभूमि जागरण अभियान चलाउने, त्यसपछि राष्ट्रवादी दल खोल्ने
रावलले नयाँ पार्टीको घोषणा गर्नुअघि मातृभूमि जागरण अभियान चलाउने बताएका छन् ।
पत्रकार सम्मेलनमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले ‘देशभक्तिपूर्ण बैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेकोले यसै दिशामा हाम्रा कदम अगाडि बढ्नेछन् भने ।
उनले नेपाली कांगेस (बीपी) र पूर्व सैनिकहरुको संगठनसँग एकता हुनसक्ने संकेत पनि गरेका छन् । उनले अगाडि भने ‘आजको उपस्थितिले देशको सर्वोपरी हितको भवनालाई प्रतिबिम्बित गर्छ भन्ने ठानेको छु, अहिलेको मातृभूमि जागरण अभियान भविष्यको सशक्त संगठन निर्माणको आधार हुनेछ।
उनले दुर्गा प्रसाईं लगायतसँग सहकार्य हुन सक्ने संकेत पनि गरे । पत्रकारको प्रश्नमा उनले भने प्रसाईंले पनि नेपालीको लगानीको कुरा गरेकोले भविश्यमा सहकार्य हुनसक्छ ।