६ पुष २०८१, शनिबार

दिवा खाजाले विद्यार्थी बढे, विद्यालय छाड्ने घटे




धनगढी/ शिक्षा अधिकार अनुगमन समूह, सुदुरपश्चिम प्रदेशद्धारा आयोजित दिवा खाजा प्रवद्र्धन र सुदृढीकरण विषयक सुदुरपश्चिम प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा बोल्दै अधिकांश सरोकारवालाले दिवा खाजाले विद्यालय आउने बालबालिकाको संख्या बढेको बताएका छन् ।

बुधबार यहाँ आयोजित एक कार्यक्रममा बोल्दै सुदूरपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डिन डा. भ्वानसिंह चलाउनेले संसारभर विद्यालयमा भर्ना दर बढाउने विभिन्न उपाय खोजिने गरेकोमा नेपालमा पनि दिवा खाजा कार्यक्रम विगतको तुलनामा प्रभावकारी भएको बताए ।

धनगढी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख धुम्मनबहादुर वडायकले खाजा कार्यक्रमले विद्यालय आउने दर बढेको, विद्यालय छोड्नेहरु घटेको, बालबालिकाको स्वास्थ्य राम्रो भएको बताउदै अझै सबै सरोकारवाला मिलेर कैयौ कमीकजोरी हटाउन ध्यान दिन जरुरी रहेको औल्याए ।

कार्यक्रम राष्ट्रिय माविका प्रधानाध्यापक अमर तारामी मगरले पनि खाजा कार्यक्रमले विद्यार्थीको सिकाइ क्षमतामा बृद्धि भएको बताए । सो अवसरमा सरोकारवालाहरुले खाजा पकाउने ठाउँ नभएको, बजेट पर्याप्त नभएको सरसफाइका समस्या रहेको पनि औल्याए ।

पञ्चोदय उच्चमाविका वाल सञ्जालका अगुवा मातृका उपाध्यायले स्थानीय उत्पादनलाई जोडेर खाजा कार्यक्रम सञ्चालन गर्दा पोषकतत्व पाउनुका साथै स्थानीय उत्पादनको प्रवद्र्धन भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा लुनिभा बाल सरोकार समुहका अध्यक्ष डा. रुपा मुनाकर्मी, कार्यकारी निर्देशक नरेन्द्र डंगोल, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य किरण थापा लगायतले दिवा खाजाको अवस्था बारे चर्चा गरेका थिए ।

कार्यक्रममा सरकारी क्षेत्र, धनगढी उपमहानगरपालिका, सामुदायिक विद्यालय र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार