१२ श्रावण २०८१, शनिबार

टीकापुरमा ‘युवा चरित्र निर्माण शिविर’ आयोजना हुने



टीकापुर । टीकापुरमा १० दिने निशुल्क ‘युवा चरित्र निर्माण शिविर’ को आयोजना हुने भएको छ ।
नेपाल आर्य समाज तथा मल्लिका विद्यापीठ गुरुकुल टीकापुरले ‘दुर्गुण, दुव्र्यसन र दुराचारमुक्त समाजको परिकल्पना, सद्गुण सद्भाव र सदाचारयुक्त समाज हाम्रो चाहना’ भन्ने मुल नाराका साथ सो शिविर आयोजना गनए लागेको हो । टीकापुर नगरपालिका–१ कैलाशेश्वर शिव मन्दिर नजिक रहेको मल्लिका विद्यापीठ गुरुकुलको प्राङ्गणमा चैत्र २१ गतेदेखि ३० गतेसम्म शिविर आयोजना गरिने गुरुकुलका प्रमुख टीकाराम आर्यले जनाए ।
वेद र वैदिक वाङ्मयका आधारमा चरित्र निर्माण शिक्षाको प्रशिक्षण दिनको लागि भारतको दिल्लीबाट वैदिक विद्वानहरु आचार्य लक्ष्य आर्य तथा आचार्य दिनेश आर्य टीकापुर आउने प्रमुख आर्यले बताए । १२ वर्षदेखि २५ वर्षसम्म उमेर समुहका पुरुष युवाहरुलाई सहभागी गराइने सो शिविरमा कम्तिमा एकसय जनालाई सहभागी गराउने लक्ष्य लिइएको छ ।
सहभागी हुन चाहनेकोले चैत्र १९ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने गुरुकुलका प्रमुख आर्यले बताए । टाढाबाट आउने तथा नजिकका भएपनि आवासीय रुपमा बस्न चाहनेलाई गुरुकुलमा नै बस्ने व्यवस्था गरेको उनले बताए । सहभागिताको लागि कापी, कलम, ओछ्याउने दरी, कटौरा, थाली, हाते रुमाल साथमा लिएर सहभागी हुनुपर्ने उनले बताए ।
पछिल्लो समय युवाहरुमा देखिन थालेको विभिन्न खालका गलत आनीबानी तथा संस्कारलाई सुधार गर्ने मुख्य उदेश्यले झण्डै एक लाख ५० हजार बराबार खर्च गरी सहभागीहरु निःशुल्क सेवा दिइने प्रमुख आर्यले बताए । कसैले स्वेच्छिक रुपमा दिएको दान भने ग्रहण गर्न सकिने उनले बताए ।
महिलाहरुलाई यस पटकको शिविरमा सहभागी गराउन नसकिएपनि निकट भविष्यमा महिला युवतीहरुका लागि महिला प्रशिक्षकको व्यवस्था गरेर छुट्टै शिविरको आयोजना गर्ने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार