महानुष्ठान शुरु
पुनर्बास । महाशिवरात्री पर्वको अवसरमा कञ्चनपुरको पुनर्वासमा रहेको श्रीनिवास दिव्यधाममा सोमबारदेखि महानुष्ठान सुरु भएको छ । महानुष्ठान ५० दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
पुनर्बास नगरपालिका वडा नम्बर ८ को पृथ्वीवस्थीको क गाउँ स्थित श्रीनिवास दिव्यधाममा तीर्थस्थल निर्माणार्थ ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महानुष्ठान सुरु भएको छ ।
महानुष्ठानको एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । सो अवसरमा मुख्यमन्त्री भट्टले पहिलो पटक हुन लागेको महानुष्ठानले प्रदेशको धार्मिक पर्यटन विकासमा टेवा पु¥याउने बताए ।
आगामी बैशाख ७ गतेसम्म चल्ने महानुष्ठानमा आठ करोड १२ लाख मन्त्र सहितको जप तथा आराधना, आठ करोड १२ लाख मन्त्र जप, हवन र अर्चना हुने श्रीनिवास दिव्यधामका संकल्पकर्ता एवं संस्थापक स्वामी गोविन्दाचार्य दाहालले जानकारी दिए ।
त्यस्तै, एक सय आठ जना आर्चायहरुद्वारा एक सय आठ श्रीमद्भागवत महापुराण, बैशाख ४ गतेदेखि ७ गतेसम्म अन्तर्राष्ट्रिय सन्त सम्मेलन हुने स्वामी गोविन्दाचार्यले जानकारी दिए ।
उनले महानुष्ठानबाट धर्म तथा संस्कृति संरक्षण र सम्वद्र्धन, राष्ट्रशान्ति, पावन दिव्यधाम विकास, पुण्यलाभ एवं पितृमोक्ष प्राप्त हुने विश्वास गरे ।
त्यस्तै, महानुष्ठानबाट सामाजिक एकता प्रवद्र्धन तथा धार्मिक पर्यटनमा टेवा पुग्ने उनले बताए ।
एक बिघा दुई कठ्ठा क्षेत्रफलमा रहेको दिव्यधाममा ४४ दशमलव चार फिट अग्लो मणिमय मण्डप, ५० फिट अग्लो दिव्य श्री राजगोपुरम विमान, ५० फिट अग्लो श्री भगवद्रथ, एक हजार आठ सहस्रधारा, तीर्थकुण्ड, पुष्पबाटिका, धर्मशाला, पुस्तकालय, योगशाला, गौशाला लगायतका संरचना निर्माण गर्ने योजना रहेको जनाइएको छ ।