निश्पक्ष छानविन गरी न्याय पाउँ: आले
धनगढी । लम्कीचुहा नगरपालिकाका–१, भुरुवाका प्रेमबहादुर आलेमगरले आफ्नो छोराको मृत्युको कारण पत्ता लगाउन सहयोग गरिदिन आग्रह गरेका छन् ।
उनले एक प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि र अन्य व्यक्तिलाई जोडी पुर्वाग्रही समाचार प्रकाशन गर्नु भन्दा आफू र आफ्नो परिवारलाई न्याय दिलाउने काममा सहयोग गर्न आग्रह गरेका हुन् । उनले लम्कीका मेयर महादेव बजगाई, वडा नं. १ का वडाध्यक्ष जनक वम र ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षकले आफूलाई घटना दवाउन दवाव दिएको कुरा झुठो गरेको विज्ञप्ति मार्फत् जनाएका छन् ।
आलेले आफ्नो ६ महिने छोरा विनोदलाई डिपिटीको खोप लगाएर घर फर्केपछि भोलिपल्ट मृत्यु भएको बताएका छन् । उनले मृत्युको कारण पत्ता लगाउन परीक्षणको लागि नमुना काठमाडाैं पठाइएको जनाएका छन् । उनले परीक्षणको प्रतिबेदन आउन बाकी नै रहेको हुँदा यस विषयमा राजनीति पुर्वाग्रही भएर समाचार प्रकाशन नगरिदिन आग्रह गरेका छन् ।
आलेले आफ्नो बालकको मुत्यु डिपिटी खोपका कारण भएको हो या अन्य कारणले भएको हो भन्ने विषयमा निश्पक्ष रुपमा छानविन गरी न्याय दिलाउन माग गरेका छन् । उनले आफूले न्याय पाउनुपर्छ भनेको कुरालाई बंग्याएर समाचार आएको भन्दै आपत्ति पनि जनाएका छन् । उनले मेयर लगायतका जनप्रतिनिधिहरुको चरित्र हत्या गर्ने गरी आएको समाचार झुठो रहेको बताएका छन् । उनले घटनाप्रति मेयर लगायतका जनप्रतिनिधिहरुले आफू र आफ्नो परिवारलाई सहानुभूति दिंदै छानविनका लागि सहयोग गरिरहेको बताएका छन् ।
यसअघि, मेयर बजगाईले पत्रकार सम्मलेन आयोजना गरी घटना ढाकछोप गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । उनले आफू पीडित परिवारको साथमा रहेको भन्दै राजनीति पुर्वाग्रही भएर आफ्नो चरित्र हत्या गरेको बताएका छन् ।