१ बैशाख २०८२, सोमबार

भारतको ईशारामा नेपाल सरकार: पौडेल (भिडियो सहित)



धनगढी । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतको ईशारामा नेपाल सरकारले काम गरिरहेको आरोप लगाएकी छन् ।


राष्ट्रिय जनमोर्चाले शनिबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सरकारले नागरिकता विधेशकको नाममा भारतीयलाई नेपाली नागरिकता दिएको आरोप लगाएकी हुन् । उनले भारतले नेपालको तराईलाई भारतमा मिसाउने उद्देश्यले ४० लाख भारतीयलाई नेपाली नागरिकता दिएको भारतीय संसद्मा भारतीय विदेश मन्त्रीले प्रतिवेदन पेश गरेको बताइन् ।
उनले भारतले सुदूरपश्चिमको लिपुलेक भारतमा रहेको नक्सा नेपाली बजारमा पठाएको र नेपाल सरकारले सोही नक्सा सरकारी कार्यालयमा प्रयोग गरेको बताइन् । उनले भारतमा मेयर हारेकोलाई नेपालमा सांसद् बनाइएको बताइन् । उनले भारतले नागरिकता विधेयक संशोधन गरी जन्मको आधारमा नागरिकता दिने व्यवस्थाले गर्दा नेपालीहरु अल्पमतमा पर्ने र नेपाललाई भारतले हडप्ने बताइन् ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले नेपाली जनतमाथि जबरजस्ती संघीयता लादिएको बताइन् । उनले सरकारले संघीयताको नाममा करको बोझ दिएको बताइन् । उनले सरकारले महिलालाई सुरक्षा दिन नसकेको बताइन् ।

नेपालको अखण्डता र राष्ट्रियता जोगाउनका लागि राष्ट्रिय जनमोर्चाले देशैभर आन्दोलन गरिरहेको बताइन् । उनले मधेशमा पनि वास्तविक नेपाली जनता रहेको र उनीहरुले मधेशमा विरोध गरिरहेको बताइन् । उनले वास्तविक नेपाली मधेशी जनताहरु विभेदमा परेको बताइन् ।
राष्ट्रिय जनमोर्चाको विरोध कार्यक्रम संयोजक हरिकृष्ण पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्ट र कैलाली जिल्ला अध्यक्ष लक्षिराम आचार्यले विरोध भाषण गरेका थिए । विरोध सभा गर्नु भन्दा पहिले राष्ट्रिय जनमोर्चाले धनगढीको ट्राफिक चौराहादेखि पार्क मोडसम्म विरोध जुलुश निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार