१७ पुष २०८२, बिहीबार

जनतालाई समृद्ध बनाउने वन नीति ल्याउछौं– सभापति कुँवर



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा अर्थ विकास तथा प्राकृतिक स्रोतसाधन समिति सभापति हर्कबहादुर कुँवरले जनतालाई समृद्ध बनाउने वन नीति ल्याउने बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश समितिले बिहीबार धनगढीमा आयोजना गरेको प्रस्तावित वन विधेयक २०७५ सम्बन्धी अन्तरक्रियामा सभापति कुँवरले उपभोक्ताको हीतलाई ध्यानमा राखेर वन नीति ल्याउने बताए ।
उनले जंगलमा रहेका ढलापडा ल्याएर जनतालाई उनीहरूको आयको आधारमा सहुलियत दिई काठ वितरण गर्ने नीति व्यवस्था गरिने बताए । उनले जनताहरूलाई उनीहरूको आर्थिक तह अनुसारको रोयल्टी लिएर काठ वितरण गर्ने व्यवस्था सहितको नीति लिन जरुरी रहेको बताए ।
कार्यक्रममा प्रदेश सांसद पूर्णा जोशीले प्राकृतिक स्रोतहरूको उपयोग नगरी समृद्धि सम्भव नभएको चर्चा गरिन् ।
सांसद प्रेमप्रकाश भट्टले वनलाई रोजगारी सिर्जनाको माध्यम बनाउन नीति मै व्यवस्था हुनुपर्ने बताए ।
गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवाले सामुदायिक वनहरूको व्यवस्थापन र अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिने गरी नीति ल्याउन आग्रह गरे । उनले वन संरक्षण स्थानीय समुदायले गर्ने भएकाले स्थानीय तहले नै त्यसको अनुगमन र व्यवस्थापन गर्दा सहज हुने बताए ।
महासंघका केन्द्रीय सचिव ठाकुर भण्डारीले प्रस्तावित वन विधेयकले गरेको व्यवस्था सम्बन्धी प्रस्तुति गर्दै चक्ला वन बनाउने नीतिले नेपालको वन क्षेत्र सखाप पार्ने बताए । उनले वन क्षेत्रलाई चक्ला बन्दी गरी निजी क्षेत्रलाई दिने व्यवस्थाले विदेशी निजी क्षेत्र भित्रिने र उनीहरूले नेपालको वन सक्याउने बताए । उनले वैज्ञानिक वन व्यवस्थापन समेत उचित नरहेको बताए । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको नाममा चुरेको वन विनास भएको बताउँदै उनले समुदायमा आधारित चुरे संरक्षण कार्यक्रम ल्याउनुपर्ने बताए ।
महासंघका प्रदेश अध्यक्ष देवबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद रतनबहादुर थापा, अम्बिकुमारी थापा, कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमाल, महासंघका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्का, गैरसरकारी संस्था महासंघकी केन्द्रीय सदस्य सावित्रा घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार