निर्मलाकी आमा दुर्गामाथि हातपात !
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्तका बुवा यज्ञराज पन्त र श्रीमती दुर्गादेवीबीच विवाद भएको छ । उनीहरूबीच राहत रकम र रगतको नमुना संकलनको विषयलाई लिएर विवाद भएको खुलेको छ । गत साउन १० गते हत्या गरिएकी निर्मलाका परिवारलाई तीनै तहका सरकारले १८ लाख क्षतिपूर्ति दिने घोषणा गरेको थियो । राहत र रगतको नमुना संकलनको विषय दुर्गा र यज्ञराजबीच पेचिलो बन्दै गएको छ ।राहतको रकम आफूलाई पनि दिनुपर्ने भन्दै निर्मलाकी कान्छी आमाले यसअघि अड्डी कसेकी थिइन् । यज्ञराजले पनि यसमा समर्थन गरेका छन् । दुर्गादेवीसँग अलग्गै बस्दै आएका यज्ञराजले रकम आफूलाई नदिए नराम्रो हुने बताएको स्रोतले जनाएको छ । अधिकारकर्मीले यसअघि यज्ञराजलाई रगतको नमुना दिन आग्रह गरेका थिए भने नेपाल प्रहरीका प्रमुख आईजीपी सर्वेन्द्र खनालले पनि रगत दिन आग्रह गरेका थिए । तर, यज्ञराजले मानेनन् । अहिले दुर्गाले छोरीको न्यायका लागि भन्दै रगत दिएपछि निर्मलाको घरमा विवाद शुरु भएको छ ।
निर्मलाकी आमा दुर्गाले डिएनए म्याच गराएर र राहत बुझ्ने बताएपछि विवाद भएको हो । निर्मलाकी कान्छी आमा र बुवाले रकम आफूले पनि पाउनुपर्ने बताएका हुन् । बुधबार निर्मलाकी आमा दुर्गाले प्रहरीमा निवेदन दिएर निर्मलाकै ‘भेजिनल स्वाब’ हो÷होइन एकिन गर्न रगत दिएकी हुन् । आज यज्ञराजले घरमै गएर दुर्गालाई कुटपिट गरेको खुलेको छ । आफूलाई नसोधी रगत दिएको र रकम बुझ्ने प्रपञ्च गरेको भन्दै यज्ञराजको रिसको सीमा रहेन । भान्सामा भएका बेला कुटपिट गर्न थालेपछि दुर्गा भात पकाउन छाडेर भागेको बुझिएको छ ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले यज्ञराजबाट मोबाईल मागेर दुर्गालाई बुझाएको थियो । निर्मलाका बाबु यज्ञराज र कान्छी आमा लक्ष्मीले घरपरिवारसँग सल्लाह नगरी अरुले उस्काएको भरमा आफूखुसी गरेको आरोप लगाएका छन् । तर, निर्मलाकी आमा दुर्गाले न्याय पर्खिँदा दुई छोरीमाथि अन्याय हुने भएकाले राहत बुझेर छोरीको भविष्य बनाउने भन्दै राहत बुझ्ने बताएकी छन् ।
यता, निर्मलाका बुवा यज्ञराज पन्तले आफूले श्रीमतीलाई कुटपिट नगरेको दावी गरे । सल्लाह नगरेर रगत दिएको र राहत रकम बुझ्ने विषयमा सोधेको यज्ञराजले बताए । आफू पुसको महिनामा धर्नामा बसेर चिसो खाइरहेको भन्दै दुर्गाले आफूखुसी गरेको उनको आरोप छ ।
स्थानीयले भने निर्मलाकी आमा दुर्गाकै नाममा पुरै राहतको रकमजम्मा गरिनुपर्ने धारणा अघि सारेका छन् । दुर्गामाथि कुटपिट भइरहेको खबर पाएपछि दवावमूलक संघर्ष समितिका अधिकारकर्मीसहितको टोली दुर्गालाई सान्त्वाना दिएका थिए । अधिकारकर्मी माया नेगीले यज्ञराजले दुर्गामाथि दुव्र्यवहार गरेको भन्दै एकपटक सच्चिन आग्रह गरिन् । उनले खाना पकाइरहेको बेला यज्ञराज र लक्ष्मी गएर दुर्गाको घाँटी थिचेका थिए । उनी भागेर बाँचन सफल भएको नेगीले बताइन् । दुर्गा अहिले अधिकारकर्मीको संरक्षणमा रहेकी छन् ।
जनता समाचार