मुख्यमन्त्रीलाई बुझाइयो– प्रदेश सञ्चार ऐनको मस्यौदा
धनगढी । नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिले बुधबार सुदूरपश्चिम प्रदेश सरकारलाई प्रदेश सञ्चार ऐनको मस्यौदा बुझाएको छ ।
महासंघका प्रदेश अध्यक्ष अर्जुन शाहसहितको प्रतिनिधिमण्डलले बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई सञ्चार ऐनको मस्यौदा बुझाएको थियो ।
कर्णाली प्रदेश र गण्डकी प्रदेशले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरी सञ्चार ऐन ल्याएपछि नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालयले सञ्चार ऐनको मस्यौदा तयार गरी सबै प्रदेश सरकारलाई बुझाउने कार्यक्रम रहेको जनाइएको छ ।
सञ्चार ऐन मस्यौदा बुझाउँदै महासंघका प्रदेश अध्यक्ष शाहले प्रदेश सरकारलाई तत्काल सञ्चार ऐन बनाउन दवाव दिन प्रादेशिक सञ्चार नीतिको मस्यौदा बुझाएको बताए ।
सो अवसरमा मुख्यमन्त्री भट्टले प्रदेश सरकार ऐन निर्माणको प्रक्रियामा रहेकाले सञ्चार ऐनको मस्यौदाले सरकारलाई सहयोग गर्ने बताए ।
महासंघले तयार गरेको सञ्चार ऐनको मस्यौदा प्रेस सम्बन्धी एकीकृत कानूनको अवधारणा अनुरूप तयार गरिएको छ । मस्यौदाभित्र मिडियाको दर्ता, नवीकरण, वर्गीकरण, विज्ञापन वितरण, पत्रकारिता प्रशिक्षणसहितका अधिकारहरू प्रदेश र स्थानीय तहमा ल्याउने प्रस्ताव गरिएको छ ।
त्यस्तै, मिडिया दर्ता, नवीकरण तथा सरकारी विज्ञापनको भुक्तानी सम्बन्धी व्यवस्था स्थानीय तहबाटै हुने प्रस्ताव गरिएको छ । स्वतन्त्र मिडियामाथि राज्यका कुनै पनि तहका निकायवाट हस्तक्षेप हुनुहुँदैन भन्ने मान्यता मस्यौदामा उल्लेख छ ।
त्यस्तै, मिडियाको वर्गीकरण, प्रशिक्षण, लोककल्याणकारी विज्ञापन वितरण, मिडियाको अभिलेखीकरण र लाइसेन्स वितरण जस्ता कामका लागि प्रदेश स्तरमा स्वतन्त्र र स्वायत्तखालको प्रदेश सञ्चार प्राधिकरण स्थापना गरिने मस्यौदामा उल्लेख छ । उजुरी सुनुवाई र कारवाही तथा प्रेस पास वितरणका लागि प्रेस काउन्सील पुनःसंरचना र प्रदेशस्तरमा कार्यालय स्थापनाको माग गरिएको छ ।
प्रदेशका सरकारी विज्ञापनहरू प्रदेशका सञ्चार माध्यममा समानुपातिक रूपमा वितरण गर्नुपर्ने व्यवस्था मस्यौदामा गरिएको छ । प्रदेशमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, पत्रकार हितका लागि पत्रकार बृत्ति कोषको स्थापना गरिने पनि उल्लेख छ ।
राय, सुझावका आधारमा महासंघले प्रस्तुत गरेको यो प्रारम्भिक मस्यौदामा आवश्यकताअनुसार पुनःपरिमार्जन गरेर प्रदेश संसद र सरकारलाई महासंघको अन्तिम मस्यौदा प्रस्तुत गरिने अध्यक्ष शाहले बताए ।