ऐश्वर्य माविको वार्षिकोत्सव
धनगढी । सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित धनगढीस्थित ऐश्वर्य विद्या निकेतन माध्यमिक विद्यालयको मंगलबार ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भएको छ । वार्षिकोत्सव कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक भव्य समारोहबीच उद्घाटन गरे ।
सो अवसरमा मुख्यमन्त्री भट्टले शिक्षाको विकासमा ऐश्वर्य विद्या निकेतनको योगदान अतुलनीय रहेको चर्चा गरे । मुख्यमन्त्री भट्टले समाजको माग अनुसार शैक्षिक संस्थाहरूले व्यवसायिक शिक्षा प्रदान गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।
मुख्यमन्त्रीले प्रदेश सरकारबाट ऐश्वर्यका लागि आवश्यक सहयोग प्रदान गरिने बताए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडको अध्यक्षतामा भएको थियो ।
वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्राचार्य धर्मदेव भट्टले आर्थिक वर्ष २०७४/०७५ को १० करोड नौ लाख ५७ हजार सात सय ३५ रुपैयाँको वास्तविक तथा चालू आर्थिक वर्ष २०७५/०७६ को १० करोड ६५ लाख ८७ हजार आठ सय ६० रुपैयाँको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
सो अवसरमा विद्यालयले विभिन्न माध्यमबाट विद्यालयलाई योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरेका थियो ।
विद्यालयले २० वर्ष निरन्तर सेवा गर्ने शिक्षिका दीपिका पाण्ये र जयन्ती कुँवरलाई एक ग्रेड थपसहित सम्मान गरियो ।
त्यस्तै, पूर्व विद्यार्थीहरू मोहनराज भट्ट, लेखनाथ ओझ, हिरा भण्डारी, भरत कुँवर, विनोद भट्ट र पुष्पराज जोशी तथा शिक्षकहरू लीलाधर सापकोटा, टेबहादुर अधिकारी, जमुना मिश्र, डाक्टर विकासकुमार सिंह, अभिभावक निलम दुलाल, शारदा शाही, भागरथी खाती, मञ्जु ओझा, शरद रावल, छुदुलाल चौधरी, मुरलीधर जोशी र लक्ष्मी चौधरीलाई सम्मान गरियो ।
कार्यक्रममा सहप्राचार्य प्रेमनिधि ओझाले स्वागत गरेका थिए ।