१ बैशाख २०८२, सोमबार

मासंमको विस्तारित बैठक



धनगढी । मानवअधिकार संरक्षण मञ्च (मासंम) को सुदूरपश्चिम प्रदेश समितिको मंगलबार धनगढीमा विस्तारित बैठक भएको छ ।
बैठकमा मानवअधिकार संरक्षण मञ्चको प्रदेश कमिटीको पूर्णता र नौ वटै जिल्लामा मञ्चको संगठन विस्तार र मानवअधिकार संरक्षण अभियान सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ । बैठक संस्थाका अध्यक्ष डिल्लीराज जोशीको अध्यक्षतामा भएको थियो । बैठकपछि जारी प्रेस नोटमा सुदूरपश्चिममा बढ्दो मानवअधिकार हनन्का घटना, निर्मला हत्या काण्ड, सीमान्तकृत समुदायको मानवअधिकार संरक्षण, स्थानीय सरकारहरूद्वारा प्रदान गरिने सेवासुविधा, स्थानीय तहहरूद्वारा निर्माण गरिने कानून र कार्यान्वयनको अवस्था र बढ्दो शितलहर, जाडो र आगलागिका घटनाका पीडित र प्रभावितहरूको अवस्थाबारे मञ्चको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
बैठकले संस्थाको उपाध्यक्षद्वयमा हिमालयबिक्रम बिष्ट र मीना कुँवर, सचिवमा राजेन्द्र रैका, सहसचिवमा मुकेश भट्ट तथा कोषाध्यक्षमा मुकेश टेंर्रालाई चयन गरेको छ ।
त्यस्तै, सदस्यमा धनपति ढुंगेल, रामचन्द्र जोशी, कर्ण शाह, चित्रा पनेरू, सर्मिला बागचन्द, गीता नेपाली, प्रितिधिर भण्डारी, रामहरी ओझा, वसन्ती चौधरी र सपना भण्डारी चयन गरेको छ ।
बैठकले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको लामो समय वितिसक्दा पनि हत्याराको पत्ता लगाउन नसकेको र निर्दोष जनताहरूमाथि भइरहेको पटक पटकको पक्राउ, जबरजस्ती यातना दिने कार्य बन्द गरी वास्तविक दोषिलाई अविलम्व पत्ता लगाएर कारवाही गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।
बैठकले स्थानीय सरकारहरूद्वारा प्रदान गरिने सेवासुविधामा हुने गरेको ढिलासुस्ती र लापरवाही र दुरुपयोग र श्रोतसाधन माथिको पहुँचका बारेमा गम्भीर ध्यानाकर्षण भएकोले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रवाह र सीमान्तकृत समुदायको सहज पहुँचको उचित व्यवस्था मिलाउन माग गरेको छ ।
त्यस्तै, स्थानीय तहको निर्वाचन भइसकेको लामो समय वितिसक्दा पनि स्थानीय तहहरूद्वारा आवश्यक कानूनहरू अझैं निर्माण नहुँदा जनताले समस्या भोगिरहेकोप्रति पनि ध्यानाकर्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार