महिला हिंसा न्यूनीकरण सम्बन्धी संवाद
धनगढी । समाजमा व्याप्त जातीय छुवाछूत तथा महिला हिंसा न्यूनीकरणका लागि विद्यमान कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने सरोकारवालाहरुले दोहोराएका छन् ।
दलित महिला संघ (फेडो) द्वारा आइतबार धनगढीमा आयोजित दलित र महिलाको सवालमा भएका कानूनको कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक जिल्ला स्तरिय संवाद
कार्यक्रममा प्रदेश सभा सदस्य दुर्गा विकले विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन नभई विभेद अन्त्य नहुने चर्चा गरिन् ।
“हामीले थप कानून निर्माण गर्र्ने वातावरण प्रदेशमा तयार पार्न आफ्नो तर्फबाट भूमिका निर्वाह गर्छौ” उनले भनिन्– “त्यसको कार्यान्वयन गर्न सरोकारवाला निकायलाई जवाफदेही बनाउनेतर्फ सबै अग्रसर हुनु पर्दछ ।”
प्रदेश सभा सदस्य अम्बिकुमारी थापाले पनि कानूनको कार्यान्वयन नहुदा जातीय छुवाछुत तथा महिला हिंसा कायमै रहेको बताइन् । जातीय छुवाछूत तथा लैङ्गिक हिंसा गर्न हुन्न भन्ने थाहा हुँदाहुँदै पनि मानिसले गल्ती गर्ने गरेको बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका निर्देशक झंंकरबहादुर रावलले जातीय छुवाछुत तथा लैङ्गिक हिंसाको अवस्था बुझ्न मानव अधिकार आयोगले देशभर अध्ययन सुरु गरेको बताए ।
कार्यक्रममा धनगढी उपमहानगर कार्यपालिका सदस्य प्रेम बिक, नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगत साउँद, दलित संघका केन्द्रीय सदस्य छत्र टेलर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अधिवक्ता जानकी तुलाधरले जातीय छुवाछूत तथा लैङ्गिक हिंसाको विद्यमान अवस्था र कानून कार्यान्वयनका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
फेडो कैलालीकी कार्यवाहक अध्यक्ष सविना सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अम्बिका ताम्राकारले गरेकी थिइन् ।
दलित महिला संघका जिल्ला संंयोजक विनोद घिमिरेले कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए ।