१६ पुष २०८२, बुधबार

कैलाली उवासंघको निर्वाचनको मिति सार्वजनिक



धनगढी । सदस्यता विवादका कारण महिनौ लम्बिएको कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि निर्वाचनको मिति तोकिएको छ ।
कैलाली उद्योग वाणिज्य संघका नयाँ कार्यसमितिका लागि आगामी २८ निर्वाचन हुने जनाइएको छ । बिहीबार संघले निर्वाचनको सम्पूर्ण कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।
संघको सदस्यहरूको टुंगो लागेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मितिसँगै अन्य प्रक्रियाका मितिहरू पनि सार्वजनिक गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव भण्डारीको संयोजकत्वमा रहेको निर्वाचन समितिले सरोकारवालाहरूसँगको छलफलपछि निर्वाचनको मिति र कार्यतालिका तय गरेको हो ।
पुस १३ गतेदेखि सुरु हुने निर्वाच कार्यतालिका अनुसार पुस २८ गते मतदान हुने छ । पुस १३ मा सदस्य मतदाता नामावली प्रकाशन, १३ र १४ मा दावी विरोध र १५ गते विहान ११ वजे अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।
पुस १८ गते उम्मेदवारहरूको मनोनयन दर्ता र सोही दिन साँझ साढे ५ बजे मनोनयनको सूची प्रकाशन गरिने छ ।
त्यस्तै, पुस १९ गते उजुरी छानविन १९ र २० गते बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, पुस २० गते साँझ साढे ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको कार्यतालिका बनाइएको छ ।
पुस २८ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्नका लागि निर्वाचन कार्यतालिका बनाइएको निर्वाचन समितिका संयोजक भण्डारीले जानकारी दिए ।
कैलाली उद्योग वाणिज्यको आसन्न निर्वाचनमा दुई हजार सात सय २५ जनाले मतदाता रहेका छन् । गत वैशाख २२ गतेको साधारण सभा स्थगित हुनुअघि संघका पाँच हजार नौ सय ९० जना सदस्य रहेका थिए ।
अधिकांश नक्कली सदस्यहरूको हालीमुहाली बढेको भन्दै उच्च अदालत दिपायलमा उजुरी परेपछि सदस्यता छानविन गरिएको छ । अदालतकै आदेश अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले अहिले निर्वाचनको काम अगाडि बढाएको छ । मिति तय भएसँगै अब निर्वाचनमा सहभागी हुने व्यवसायीहरूले प्रचारप्रसार सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार