१६ पुष २०८२, बुधबार

नेफा प्रदेश निर्वाचनमा दुई प्यानल



धनगढी । नेपाल जनस्वास्थ्य संघ (नेफा) सुदूरपश्चिम प्रदेश समितिको निर्वाचनमा दुई प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल जनस्वास्थ्यकर्मी (पेसागत) समूह र नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहले पौष २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।
अध्यक्ष पदका लागि पेसागत समूहबाट दयाकृष्ण पन्त र प्रगतिशील समूहबाट रमेश कुँवरले प्रतिस्पर्धा गर्ने भएका छन् । पेसागत समूहबाट उपाध्यक्षमा रक्षा गिरी र प्रगतिशील पक्षबाट योगेशप्रसाद भट्टबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै, सचिवमा पेसागतबाट शिवराज सुनार र प्रगतिशिलबाट भुपेन्द्रसिंह महरा मैदानमा उत्रिएका छन् । भने सहसचिवमा अशोककुमार जोशी र गौरीदत्त जोशी तथा कोषाध्यक्षमा जानकी पराजुली मिश्र र निशा जोशी निर्वाचनमा होमिएका छन् ।
पेसागत समूहबाट सदस्यहरूमा झनकराज ढुंगाना, प्रशान्तबिक्रम शाही, डिल्लीरमण जोशी र मनोज शाह उम्मेदवार रहेका छन् भने प्रगतिशील पक्षबाट वेदप्रकाश जोशी, मीनराज जोशी, जनकराज भट्ट र हरिशप्रसाद भट्ट उम्मेदवार छन् ।
त्यस्तै, समावेशी सदस्यमा पेसागत पक्षबाट सुदेश चौधरी र नृपबहादुर चौधरी तथा प्रगतिशील पक्षबाट प्रेमसिंह तिरुवा र अनिता खड्का उम्मेदवार छन् ।
दुबै समूहले आफ्नो घोषणापत्र जारी गर्दै प्रचारप्रसारमा होमिएका छन् । पेशागत समूहले प्रभावकारी जनस्वास्थ्य सेवा, व्यवसायिक हकहित र विकासका लागि आफ्नो नेतृत्व रहेको दावी गरेको छ भने परिवर्तन, पेशागत विकास, तथ्यमा आधारित जनस्वास्थ्य सेवाका लागि आफ्नो नेतृत्व रहेको जनाएको छ । जनस्वास्थ्य संघका लागि यस प्रदेशमा एक सय ६२ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार