१४ कार्तिक २०८१, बुधबार

नयाँशक्तिले मध्यपहाडी लोकमार्ग जागरण अभियान गर्दै



धनगढी । नयाँशक्ति पार्टीले मध्यपहाडी लोकमार्गमा जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । नयाँशक्ति पार्टीका केन्द्रीय संयोजक तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा माघ २० गतेदेखि सो अभियान शुरु हुने बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
‘पार्टीको पाँच महिना, पाँच काम, पाँच परिणाम’ अन्तर्गत विचार प्रचारात्मक तथा संगठन विस्तार अभियान कार्यक्रम पाँचथरको चिवा भंज्याङदेखि बैतडीको झुलाघाटसम्म सञ्चालन हुने जनाइएको छ छ ।
पार्टीको प्रदेश सचिवालयको केही दिनअघि डडेल्धुरामा बसको बैठकले अभियान सफल बनाउने सहित विभिन्न निर्णय गरेको पार्टीका प्रवक्ता मीनराज बडूले जानकारी दिए ।
प्रदेश इञ्चार्ज कृष्णकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले अभियान सफल पार्न विभिन्न समितिका संयोजक चयन समेत गरेको छ ।
प्रवक्ता बडूका अनुसार प्रदेश सचिवालय बैठकले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेको छ । सो घटनामा संलग्न दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउनुका सट्टा सरकारले अनुसन्धानको नाटक गर्दै निर्दोषहरूलाई पक्राउ गर्ने र छोड्ने गरेकोमा खेद व्यक्त गरेको छ ।
बैठकले राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रेशम चौधरीलाई सपथ ग्रहण गराउनुपर्ने पनि माग गरेको छ ।
त्यस्तै, बैठकले सुदूरपश्चिम प्रदेश सरकारले सात जिल्लालाई उपेक्षा गरेको ठहर गरेको छ । “सात जिल्लाको जनभावना विपरित सुदूरपश्चिम प्रदेश सभाले तराईमा राजधानी तोकेको छ” प्रवक्ता बडूले बैठकको निर्णयबारे जानकारी दिँदै प्रदेशमा भ्रष्टाचार, अनियमितता, कुशासन, महिला हिंसा/बलात्कार, जातीय विभेद तथा भेगीय विभेद कायमै रहेको निष्कर्ष निकालेको बताए ।
पत्रकार सम्मेलनमा नयाँशक्ति पार्टीकी नेतृ हिसिला यमीले वर्तमान सरकार जनमुखी काम गर्न असक्षम देखिएको बताइन् । नेतृ यमीले संघीय सरकारको एक वर्षको क्रियाकलाप हेर्दा “भित्र भित्रै कुहिएको फर्सी” जस्तो भएको टिप्पणी गरिन् ।
उनले भनिन्– “जनतामाथि दमन गर्ने, ३३ किलो सुन काण्डमा सत्यतथ्य छानविन गर्न नसक्ने, निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने जस्ता क्रियाकलापले वर्तमा संघीय सरकार असफल भएको पुष्टि भएको छ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार