प्रदेशको पर्यटन विकासका लागि छिट्टै नीति तथा कार्यक्रम– मन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले प्रदेशको पर्यटन विकासका लागि सरकारले महत्त्वपूर्ण योजनाहरू तयार गरिरहेको बताएकी छन् ।
क्यानडा नेपाल पर्यटन, सांस्कृतिक तथा व्यापार मञ्चको आयोजना तथा एभिन्युज सुदूरपश्चिम प्रदेश ब्युरोको संयोजनमा सोमबार धनगढीमा आयोजित सुदूरपश्चिमको पर्यटन विकास, सम्भावना र चुनौति विषयक कार्यक्रममा मन्त्री भट्टले प्रदेशको आर्थिक समृद्धिका लागि सरकारले पर्यटनलाई प्रमुख आधार बनाएको चर्चा गरिन् ।
मन्त्री भट्टले प्रदेशमा खप्तड, शुक्लाफाँटा, घोडाघोडी, गोदावरी, टीकापुर पार्क, कर्णाली पुल, शिवपुरीधाम, त्रिपुरा सुन्दरी लगायतका थुप्रै पर्यटकीय स्थल रहे पनि पर्यटक भित्राउन नसकिएकोप्रति सबै पक्ष गम्भीर हुन आग्रह गरिन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सुदूरपश्चिम प्रदेशको पर्यटन विकासको लागि प्रदेश सरकारले प्रदेश भित्रका सम्पूर्ण विमानस्थल सञ्चालन, खप्तडको विकास तथा गौरीफन्टा नाकाको स्तरोन्नतीमा केन्द्रीत हुन आग्रह गरे । उनले भने– “प्रदेश सरकारले यी तीन पक्षमा मात्रै ध्यान दियो भने बाँकी पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय तह आफैंले पर्याप्त ध्यान दिने छन् ।”
नगर प्रमुख वडले उपमहानगरपालिकाले ३५ करोड रुपैयाँ लागतमा जाखोर तालको बृहत गुरुयोजना निर्माण गरिरहेको, आठ करोड रुपैयाँको लगानीमा बेहडबाबाको विकासका लागि योजना सञ्चालन गरेको तथा शिवपुरी धामको विकासका लागि रकम विनियोजन गर्ने बताए ।
कार्यक्रममा नेपाली मुलका क्यानेडाका नागरिक नरबहादुर टण्डनले आफूले उत्तर अमेरिकाका सात वटा देशमा नेपालका प्रमुख पर्यटकीय स्थलको प्रचारप्रसारका लागि काम गरिरहेको चार्च गरे ।
क्यानडामा ट्रक ड्राइभर रहेका अभियन्ता टण्डनले ट्रकको बाहिर नेपालका पर्यटकीय स्थलको तस्वीर, पोष्टर राखेर प्रचारप्रसार गरिरहेको बताए । उनले सुदूरपश्चिमको पर्यटन विकासका लागि आफूले सक्दो योगदान गर्न चाहेको बताए ।
कार्यक्रममा नाटाका प्रदेश अध्यक्ष मायाप्रकाश भट्ट, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह, पूर्व केन्द्रीय सदस्य मनमोहन स्वाँर, साहित्यकार पदमराज जोशी, पर्यटन व्यवसायी रविनकान्त पन्त, प्रमोद पाठक, मोहनदव भट्ट, व्यावसायी राजेन्द्र अग्रवाल लगायतले सुदूरपश्चिमको पर्यटन विकासका चुनौतिबारे चर्चा गरेका थिए ।
कार्यक्रममा पर्यटन व्यवसायी, संस्कृतिविद्, सञ्चारकर्मी लगायत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको एभिन्युजका प्रदेश ब्युरो इन्चार्ज पत्रकार हिक्मत रावलले सहजीकरण गरेका थिए ।