७ चैत्र २०८१, शुक्रबार

समानान्तर प्रतिनिधि पठाइयो



धनगढी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ, कैलालीले समानान्तर रूपमा जिल्ला प्रतिनिधि खटाएको छ ।
नेपाल विद्यार्थी संघ कैलालीको वर्तमान समितिले एकलौटी रूपमा जिल्ला प्रतिनिधिहरू खटाएकोप्रति संघभित्रै असन्तुष्टि बढेपछि कमिटीमा हेरफेर गरिएको जनाइएको छ ।
नेविसंघ कैलाली क्षेत्र नम्बर ४ का अध्यक्ष गणेश शाहसहित उनी पक्षीय विद्यार्थी नेताहरूले वर्तमान समिति र केन्द्रीय प्रतिनिधिको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेपछि प्रतिनिधि हेरफेर गरिएको कार्यवाहक अध्यक्ष भेषबहादुर बमले बताए ।
उनले एक विज्ञप्ति जारी गर्दै १४ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारीमा रहेकाले असन्तुष्ट पक्षको भावनालाई पनि समेटेर अघि बढेको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ– ‘यसअघि दुबै पक्षबाट पठाइएका प्रतिनिधिहरूको जिम्मेवारी खारेज गरिएको छ ।’
विज्ञप्ति अनुसार धनगढी उपमहानगरपालिकामा सुमन केसी, गोदावरी नगरपालिकामा मानबहादुर बुढा, गौरीगंगा नगरपालिकामा तेजबहादुर खडका, घोडाघोडी नगरपालिकामा अजित चौधरी, लम्की चुहा नगरपालिकामा हृदय उपाध्याय, टीकापुर नगरपालिकामा सिपी सापकोटा र भजनी नगरपालिकामा मनोज देउवालाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, कैलारी गाउँपालिकामा सूर्य चौधरी, मोहन्याल गाउँपालिकामा पुष्प भण्डारी, चुरे गाउँपालिकामा गणेश शाह, जोशीपुर गाउँपालिकामा ओमजंगबहादुर सिंह, जानकी गाउँपालिकामा झनक तिमिल्सेना र बर्दगोरिया गाउँपालिकामा दीपक जोशीलाई खटाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार