१४ कार्तिक २०८१, बुधबार

दैनिक दुई घण्टा मालबाहक सवारी साधन प्रवेश निषेध



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–५, का विभिन्न सडक खण्डमा दैनिक दुई घण्टा ट्याक्टर, ट्रिपर तथा मालबाहक भारी सवारी साधन प्रवेश निषेध गर्ने भएको छ ।
धनगढी उपमहानगरपालिका–५ का अध्यक्ष हिरासिंह पातलीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको संयुक्त बैठकले वडाका साँघुरा र विद्यालय क्षेत्रमा पर्ने सडक खण्डमा पौष १५ गते लागुहुने गरी विहान र बेलुका एक÷एक घण्टा ट्याक्टर, ट्रिपर तथा मालबाहक भारी सवारी साधन प्रवेश निषेध गर्ने भएको हो । वडा अध्यक्ष, वडा सदस्य, जिल्ला ट्राफिक कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा सदस्य, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयहरु सहितको उपस्थितिमा बसेको संयुक्त बैठकले वडा नम्बर ५ को डिभोटी होटेलदेखि सामुदायिक प्रहरी सेवा केन्द्र चोक, लब्ली चोकदेखि नैनादेवी मन्दिर जाने चोक तथा नेपाल राष्ट्र बैंक चोकदेखि चकमेली चोकसम्मको सडक खण्डमा सार्वजनिक बिदा बाहेक बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका साढे ३ देखि साढे ४ बजेसम्म सो ट्याक्टर, ट्रिपर तथा मालबाहक भारी सवारी साधनलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।
एक दर्जनभन्दा बढी विद्यालय रहेको यस क्षेत्रमा तीव्र गतिका सवारी साधनका कारण विद्यालय जाने र आउँने विद्यार्थीलाई क्षति पुग्ने भन्दै बिद्यालय लाग्ने र छुट्टी हुने समयमा ट्याक्टर, ट्रिपर तथा मालबाहक भारी सवारी साधनलाई प्रवेश निषेध गरिनुका साथै विद्यालय क्षेत्रमा सवारी साधनको अधिकतम गति सीमा २० किलोमिटर प्रति घण्टा कायम गर्ने निर्णय संयुक्त बैठकले गरेको हो ।
शनिबारसम्म निषेध गरिएको सडक खण्डको प्रवेशमा गति सीमित र प्रवेश निषेधका बोर्ड राख्ने र आइतबारदेखि प्रवेश निषेध गरिएको वडा अध्यक्ष हिरासिंह पातलीले बताए ।
यस्तै, आजै भएको सरोकारवालाहरुको संयुक्त बैठकले वडा स्तरीय सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन समिति समेत गठन गरिएको छ ।
वडाध्यक्ष हिरासिंह पातलीको अध्यक्षतामा गठन भएको वडा स्तरीय सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन समितिको सदस्यहरुमा वडा सदस्यहरु मायादेवी विश्वकर्मा, बब्लुकुमार चौधरी, भूमिराज जोशी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जनकराज पाण्डेय, पिपल चौतारा बजार व्यवस्थापन समितिका अध्यक्ष बिमल केसी, सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज, पञ्चोदय उच्च माध्यमिक विद्यालय र ऐश्वर्य विद्या निकेतनका प्रतिनिधि सदस्य रहेका छन् भने वडा नम्बर ५ का सचिव बिमलप्रकाश जोशी सदस्य सचिव रहेका छन् ।
एक साता यता वडा नम्बर ५ को पिपल चौतारा लब्ली चोक सडक खण्ड र पिपल चौतारा खुटिया सडक खण्डमा ट्याक्टर र टिप्परको ठक्करबाट दुई जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार