१२ बैशाख २०८२, शुक्रबार

दुई महिनामा भएका अपराधिक घटना सार्वजनिक



धनगढी । कैलाली जिल्ला प्रहरी कार्यालयले जिल्लामा पछिल्लो दुई महिनाको अवधिमा भएका अपराधिक घटनाहरू सार्वजनिक गरेको छ ।कैलालीको प्रहरी प्रमुखका रूपमा सरुवा भएर प्रहरी उपरीक्षक आभूषण तिमिल्सिना आएको दुई महिनाको अवधिमा जिल्लामा भएका अपराधिक घटना शनिबार सार्वजनिक गरिएको थियो ।
यो अवधिमा कैलालीमा कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगका तीन/तीन वटा घटना भएका थिए ।
त्यस्तै, पछिल्लो दुई महिनाको अवधिमा बलात्कारका तीन, अपहरणको एक र मानव बेचबिखनका दुई घटना भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यो दुई महिनाको अवधिमा कैलालीमा तस्करीको एक, मोटरसाईकल चोरीका दुई, लागू औषधका १३, चोरीका पाँच, सवारी दुर्घटनाका दुई, जातीय विभेदका एक, जुवाका तीन, विस्फोटको एक, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा नैतिकता विरुद्धको कसुरका चार घटना भएका थिए ।
जिल्ला प्रहरीले यो अवधिमा चार जना फरार अपराधी समेत पक्राउ गरेको जनाएको छ । शनिबार नै कैलाली प्रहरीले जिउ मास्ने बेच्ने मुद्दामा सजाय पाएका फरार अपराधीलाई सार्वजनिक गरेको छ ।
कैलाली कारागारबाट भागेका ३५ वर्षीय सुरज कोलीलाई प्रहरीले सार्वजनिक गरेको हो । कैलाली कारागारबाट भागेका उनलाई प्रहरीले दुई वर्षपछि काठमाडौंबाट शुक्रबार पक्राउ गरेको थियो ।
काठमाडौं सीतापाइलामा लुकेर बसेको अवस्थामा सुरजलाई पक्राउ गरिएको कैलाली प्रहरी प्रमुख तिमिल्सिनाले बताए । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का सुरजले नौ वर्ष तीन महिना सजाय भोगिसकेको अवस्थामा २०७३ असोज ६ गते जिल्ला कारागार कैलालीबाट फरार भएका थिए ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख तिमिल्सिनाले जिल्लामा अपराधिक तथा अवांछित गतिविधिका मुख्य समस्याको पहिचान गरिएको बताएका छन् ।
“म कैलालीमा आएको दुई महिनाको अवधिमा जिल्लाका मुख्य अपराधिक गतिविधि तथा समस्याको पहिचान गरिएको छ” शनिबार धनगढीमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा जिल्ला प्रहरी प्रमुख तिमिल्सिनाले भने– “कैलालीमा लागूऔषध ओसारपसार तथा दुव्र्यशन, वेश्यावृत्ति, तस्करी, जुवातास, अवैध भन्सार छली मुख्य समस्याका रूपमा रहेका छन् ।”
प्रहरी उपरीक्षक तिमिल्सिनाले आफूले संगठनभित्र पनि सुधारलाई उत्तिकै ध्यान दिइको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार